
विराटनगर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका तराई भू–भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ।

महाशाखाले सार्वजनिक गरेको पुस ९ गतेदेखि ११ गतेसम्मको मौसम बुलेटिनअनुसार तराई क्षेत्रमा चिसो बढ्नुका साथै न्यून भिजिबिलिटीका कारण जनजीवन प्रभावित हुन सक्ने देखिएको छ।
विभागका अनुसार बुधबार कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा मध्यान्हसम्म हुस्सु लाग्नेछ भने बाँकी तराईका क्षेत्रमा दिनभरि नै कुहिरो लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा पनि तराई क्षेत्रमा हुस्सुको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ।
बिहीबार र शुक्रबार पनि तराई भू–भागमा हुस्सु र कुहिरो जारी रहनेछ। बिहीबार सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना छ भने शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।
तराई क्षेत्रमा बाक्लो कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी बिहानको समयमा यात्रा गर्दा सावधानी अपनाउन तथा बढ्दो चिसोबाट जोगिन आवश्यक उपाय अवलम्बन गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
यद्यपि पहाडी र हिमाली क्षेत्रमा मौसम प्रायः सफा रहने भए पनि न्यूनतम तापक्रम घट्दै गइरहेकाले चिसोको जोखिम भने कायमै रहनेछ।