
काठमाडौँ । देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। सोमबार सिंहदरबारमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी आयोजित सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जानकारी दिएका हुन्।

उनका अनुसार यो संख्या कुल मतदातामा ५.६५ प्रतिशत वृद्धि हो। मतदाता नामावलीको अन्तिम सूची भने आगामी पुस १५ गते मात्र सार्वजनिक हुने उनले बताए।
प्रवक्ता भट्टराईले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूको संख्या ११४ पुगेको जानकारी दिए। गत २०७९ सालको निर्वाचनमा ८७ दल दर्ता भएकोमा यसपटक दलहरूको संख्या बढेकाले प्रतिस्पर्धा समेत बढ्ने आयोगको अनुमान छ।
निर्वाचन सामग्री व्यवस्थापनका सन्दर्भमा आयोगले निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री पहिचान गरिसकेको जनाएको छ। तीमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाटै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले केन्द्रबाट खरिद गरी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
भट्टराईका अनुसार मतपेटिका र मसी पर्याप्त मौज्दातमा रहेकाले ती सामग्री खरिद गर्नुपर्ने अवस्था छैन। पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड, स्ट्याम्प मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्रीमध्ये आवश्यक परेमा मात्र खरिद प्रक्रिया अघि बढाइनेछ।
“स्रोतको बचत हुने गरी मितव्ययी ढंगले निर्वाचन सम्पन्न गर्ने हाम्रो लक्ष्य हो,” भट्टराईले भने।
उनले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति दिइसकिएको जानकारी दिँदै मुलुकभर शान्तिपूर्ण निर्वाचन वातावरण बनाउन सुरक्षा निकाय र सरकारसँग आयोगले निरन्तर छलफल र परामर्श गरिरहेको बताए।
— न्युज एजेन्सी नेपाल