
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङसँगको सम्बन्धबारे स्पष्ट पार्दै दुबै जना प्राधिकरणमै लामो समय काम गरेको कारण उनका बीच पेशागत समझदारी मजबुत रहेको बताएका छन्।

अदालतले पुनर्बहाली गरेपछि प्राधिकरण फर्किएका शाक्यले मन्त्री घिसिङसँग समन्वय कसरी अघि बढ्छ भन्ने चासोलाई सम्बोधन गर्दै भने, “ऊर्जामन्त्रीज्यू र म दुवै प्राधिकरणका क्याडर हौँ। मैले ३०–३५ वर्ष काम गरेँ, उहाँले पनि करिब ३० वर्ष काम गर्नुभयो। त्यसैले ऊर्जा क्षेत्रको बोध हामी दुवैमा समान छ जस्तो लाग्छ।”
चिलिमे जलविद्युत् आयोजनाको अनुभव स्मरण गर्दै उनले आफू र घिसिङले उही प्रकृतिका चुनौती र अवसरहरू भोगेको बताए। “चिलिमे निर्माणका क्रममा मैले इलेक्ट्रोमेकानिकल डिजाइनदेखि सञ्चालनको थिति बसाल्ने जिम्मेवारी लिएँ,” शाक्यले भने।
उनका अनुसार चिलिमेले २०६५ सालमा ऋण तिरेर नाफामा आएपछि घिसिङ त्यहाँ पुगेका थिए र उनले थप आयोजनाहरू विस्तार गरेका थिए। “चिलिमेलाई सक्षम बनाउने काम हामीले गरेका थियौँ। निजी क्षेत्र र प्राधिकरणले कम्पनीमार्फत अघि बढ्नुपर्ने सोच विकसित हुनुलाई हामी दुबै साक्षी हौँ,” उनले जोड दिए।
तर आजको परिस्थितिमा आफूले सोही मोडेललाई केही पुनर्विचार गरिरहेको शाक्यको भनाइ छ। “केवल कम्पनीमार्फत होइन, प्राधिकरणले आफ्नै आयोजनाहरू पनि निर्माण गर्नुपर्छ भन्ने सोच अहिले मेरो छ,” उनले स्पष्ट पारे।
घिसिङ र आफ्नो सोच धेरै विषयमा उस्तै रहेको उल्लेख गर्दै उनले दुवैबीचको विगतको सहकार्य स्मरण गरे। घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक हुँदा शाक्य एनईए इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक थिए। “एक्लै गएर सुरु गरेको कम्पनीलाई एक वर्षमै डेढ सय इन्जिनियरसहितको संरचनामा रूपान्तरण गर्न सकेँ—त्यो काम उहाँको साथ र सहयोगले सम्भव भयो,” शाक्यले भने।
२०७४ सालका अनुभव अहिले दोहोरिरहेजस्तै लागेको उनको टिप्पणी छ। “त्यतिबेला एनईए इन्जिनियरिङको सञ्चालक समितिका अध्यक्ष उहाँ हुनुहुन्थ्यो, अहिले प्राधिकरणमा फर्कँदा प्राधिकरणका अध्यक्ष मन्त्रीज्यू नै हुनुहुन्छ,” उनले भने।
शाक्यले अन्त्यमा भने, “त्यतिबेला जस्तै अहिले पनि राम्रो कामलाई उहाँले प्रशंसा र सहयोग गर्नेछन् भन्नेमा म विश्वस्त छु।”