
विराटनगर — नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति–सन्तुलन पुनः तातेको देखिन्छ। अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतिको सम्भावना खोज्दै वा आफू अनुकूल टिम बनाउँदै अघि बढ्ने चर्चा चलिरहेको बेला एक प्रभावशाली पोलिटब्युरो सदस्यले ओलीलाई ‘प्यानल’ नबनाउने चेतावनी दिएका छन्। तर सो नेता नाम सार्वजनिक गर्न इच्छुक छैनन्।

उनका अनुसार अध्यक्ष ओलीको कोर–टिमभित्रका केही व्यक्तिले आफूलाई जानी–जानी पाखा लगाउने प्रयास गरिरहेका छन्। समूहबन्दी गरेर निर्वाचनमा जाने हो भने त्यो अन्ततः ओलीकै लागि उल्टो पर्ने उनको दाबी छ।
“पार्टीभित्र अहिले एक किसिमको अस्वाभाविक मौनता छ। धेरैजना परिस्थिति हेरेर मात्र बोल्ने अवस्थामा छन्,” उनले बताए, “अलि आलोचनात्मक ढङ्गले बोल्नेहरूलाई नजिकबाट नियाल्ने प्रवृत्ति बढेको छ, म पनि त्यसकै शिकार हुँ।”
आगामी महाधिवेशनमा आफू पदाधिकारीको दाबेदार रहेको स्पष्ट गर्दै उनले आफूभन्दा सिनियर उम्मेदवार आए मात्र पछि हट्ने सम्भावना भएको बताए। “जुनियरका लागि म मैदान छोड्दिन,” उनले भने।
उनका अनुसार आफ्नो ‘पब्लिक अफेयर्स’ संलग्नता र क्षमताले आफूलाई पदाधिकारी पदका लागि योग्य बनाउँछ।
त्यसैबीच उनले अध्यक्ष ओलीलाई प्यानल बनाएर चुनावमा जाँदा ठूलो असन्तुष्ट समूह खडा हुने चेतावनी दिए। “प्यानल बन्यो भने सिमित मान्छे मात्र ओलीका मान्छे ठहर्ने, बाँकी ठूलो पंक्ति चिढिन सक्छ,” उनले भने, “त्यो परिस्थितिले पार्टीलाई नै नोक्सान पुर्याउँछ।”
उनको विश्लेषणमा महाधिवेशनमा आकांक्षीहरूको संख्या सयौँ छ तर पद सीमित। अध्यक्षले सिमित नाममात्र समेटे बाँकी समूह व्यवस्थापन हुन नसक्ने र त्यसले ‘बिग्रिने’ अवस्था निम्त्याउने उनको धारणा छ।
“समूहबन्दी भयो भने फाइदा चाहिँ ईश्वर पोखरेल पक्षले पाउने सम्भावना बढी छ,” उनले थपे।
अध्यक्ष ओलीप्रति पार्टी पंक्ति र जनमानसमा सम्मान रहेको तर उनको वरिपरि घेराबन्दी सिर्जना गर्ने व्यक्तिहरूप्रति वितृष्णा बढेको उनको भनाइ छ। “बाहिरबाट हेर्दा ओली त्यति नराम्रा देखिँदैनन्, तर नजिक पर्नेहरूकै कारण छवि बिग्रिरहेको छ,” उनले टिप्पणी गरे।
राजनीतिक विश्लेषक कृष्ण पोखरेलले पनि ओलीले यसपटक दशौँ महाधिवेशनकै शैली दोहोर्याउने सम्भावना रहेको बताएका छन्। “सर्वसम्मति भनाएर पूरै सूची जारी गर्ने, अनि विधान संशोधन गरेर पदाधिकारी र सदस्य थप्ने—यो नै सम्भावित मोडेल देखिन्छ,” पोखरेलले भने। उनले शंकर पोखरेलले यो पटक हार्न सक्ने सम्भावना औँल्याए।