हिपमत डटकम

सोमबार, मंसिर २३, २०८२ || 569  पटक पढिएको

विराटनगर । आर्थिक गतिविधि सुस्त हुँदै गएको अवस्थामा मोरङ उद्योग व्यापार संघले अर्थतन्त्रमा नयाँ ऊर्जा भर्ने उद्देश्यसहित ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ। मुलुककै जेठो उद्योग वाणिज्य संघ मानिने संघले पुस ९ देखि १९ गतेसम्म शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय छेउको क्षेत्रमा एक्स्पो गर्न तयारी पूरा गरेको छ।

संघका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाद्वारा जारी विज्ञप्तिमा ‘जेनजी आन्दोलन’पछि स्थानीय बजारमा परेको असरलाई हटाइ आर्थिक गतिविधि पुनर्जीवित गर्ने प्रभावकारी माध्यमका रूपमा एक्स्पो उपयोगी हुने उल्लेख छ।

एक्स्पोमा कृषि, पर्यटन, ऊर्जा तथा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकताका रूपमा राखिनेछ। नेपाल व्यापार रणनीतिअनुसार पहिचान गरिएका उत्पादनहरूको बजार विस्तारमा पनि मेला सहयोगी हुने आयोजकको दाबी छ।

करीब २३० स्टल रहने एक्स्पोमा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अत्याधुनिक ‘अक्टानम’ सिस्टम प्रयोग गरिनेछ। नेपालका साना, मझौला तथा ठूला उद्योगका सामग्रीसँगै भारत, बंगलादेश र पाकिस्तानका वस्तुहरूको पनि प्रदर्शनी हुनेछ।

परम्परागत व्यापार मेलाको ढाँचा तोड्दै यसपटक एक्स्पो ज्ञान, प्रविधि र उद्यमशीलता–केन्द्रित हुने आयोजकले जनाएका छन्। स्टार्टअप, सूचना प्रविधि, कर–लेखा प्रणाली, महिला उद्यमशीलता प्रवर्द्धनलगायतका विषयमा विशेष स्टल राखिनेछ। साथै साइबर सुरक्षा, डिजिटल व्यवसाय विस्तार र पर्यटन प्रवर्द्धन रणनीति बारे गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम हुनेछन्।

दर्शक आकर्षणका लागि हरेक साँझ राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ, जसमा कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन र उज्जेन शाक्य प्रमुख हुनेछन्।

मेलामा ‘सेल्फी जोन’, ‘किड्स जोन’, ‘फिस तथा जलपरी टनेल’ जस्ता आकर्षण रहनेछ। प्रवेशद्वारलाई पनि आधुनिक स्वरूपमा नेपाली कला–संस्कृति झल्किने गरी तयार गरिने जनाएको छ।

‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ मुख्य प्रायोजक रहेका एक्स्पोले ‘कोशी पर्यटन वर्ष २०८२’ सफल बनाउन सहयोग गर्ने आयोजकको विश्वास छ। मोरङ तथा सीमावर्ती भारतका क्षेत्रबाट करिब दुई लाख दर्शक मेलामा सहभागी हुने अनुमान गरिएको छ।

मोरङ उद्योग व्यापार संघले यसअघि पनि कोशी महोत्सव, पूर्वाञ्चल औद्योगिक व्यापार मेला र विराट महोत्सव जस्ता कार्यक्रमहरूको सफल आयोजना गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!