
चितवन । लामो समयदेखि नोक्सान व्यहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले अन्ततः नाफा हुने मूल्यमा अन्डा बेच्ने अवसर पाएका छन्। पछिल्ला वर्षहरूमा लागत मूल्यसमेत नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान व्यवसायबाट विस्थापित हुनुपरेको थियो।

नेपाल लेयर्स कुखुरापालक संघले मंसिर २३ गतेदेखि लागू हुने गरी अन्डाको नयाँ मूल्य निर्धारण गरेको छ। नयाँ दरअनुसार–
ठूलो (XL) अन्डाको प्रतिक्रेट (३० वटा) रु ५८०,
ठूलो अन्डा रु ५६५,
मिडियम अन्डा रु ५५० कायम गरिएको छ।
यसअघि साउनमा इतिहासकै उच्च मूल्य प्रतिक्रेट रु ५६० पुगेको अन्डा क्रमशः घटेर रु ४०० मा झरेको थियो।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको तुलनामा अन्डाको मूल्य प्रतिक्रेट २० रुपैयाँले बढाइएको छ। भारतीय अन्डा अवैध रूपमा भित्रिने क्रम रोकिएपछि नेपाली अन्डाले लागत मूल्य पाउन थालेको उनले बताए।
भारतमा निर्वाचनका कारण सिमानामा कडाइ हुनुका साथै त्यहाँको अन्डाको खपत बढेपछि अवैध आयात घटेको पोखरेलको भनाइ छ। उनले सरकारसँग सीमा क्षेत्रमा कडाइ गर्न आग्रह गर्दै भने,
“भारतीय सीमामा कडाइ गर्न सकियो भने नेपाली कृषकले उचित मूल्य पाउने देखियो।”
संघका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमै अन्डाको मूल्य बढेपछि अवैध निकासी तथा नेपालतर्फ भित्र्याउने प्रयास कम भएको छ।
नेपालमा अन्डाको लागत मूल्य प्रतिगोटा रु १६.५७ पर्न आउने र हालको मूल्यले किसानलाई नाफा हुने संघले जनाएको छ।
पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष तथा संघको बजार व्यवस्थापन अभियानका सदस्य राजेन्द्र लामिछानेले जाडो याममा अन्डाको खपत बढ्ने बताउँछन्।
हाल नेपालमा दैनिक झण्डै ४० लाख गोटा अन्डा उत्पादन हुने अनुमान गरिएको छ।