
विराटनगर – मोरङको लेटाङ–२ की १३ वर्षीया किशोरी अंशु गौतम हत्या प्रकरणमा प्रहरीले अन्ततः छिमेकी ५० वर्षीय पदम अधिकारीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार अंशुको शव गत कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनमा क्षतविक्षत अवस्थामा फेला परेको थियो। घटना सार्वजनिक भएको र गाउँमा अनुसन्धान सुरु भएको ९ दिनपछि अधिकारी भारत पलायन भएका थिए। उनी झण्डै एक महिना लुकेर बसेका थिए र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरी नेपाल ल्याएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालका अनुसार, “अंशु हराएको केही दिनपछि उनी भारत गएका थिए, जसले शंकाको सुई उनीतिर सोझिएको थियो। अहिले उनलाई नियन्त्रणमा लिएर गहिरो अनुसन्धान गरिरहेका छौं।”
असोज २१ गते घरबाट निस्किएकी अंशु १८ दिनसम्म बेपत्ता थिइन्। शव जंगलमा टाउको र शरीर छुट्टिएको र सडेको अवस्थामा फेला परेको थियो। घटनास्थलमा भेटिएका उनका कपडा र चप्पलका आधारमा प्रारम्भिक अनुसन्धानले बलात्कारपछि हत्या भएको अनुमान गरेको छ।
पोष्टमार्टम रिपोर्ट अनुसार अंशुको हत्या घरबाट हराएको दिन (असोज २१) मा भएको देखिएको छ। शव पहिचान बुबा नविन गौतमले घटनास्थलमा भेटिएका वस्तु र डीएनए परीक्षणबाट गरेका थिए।