हिपमत डटकम

बुधबार, मंसिर १८, २०८२ || 297  पटक पढिएको

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिन लागेका छन्। बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमै उनले राजीनामा घोषणा गर्ने तयारी गरेको एमाले स्रोतहरूले जानकारी दिएका छन्। विश्वासको मत प्राप्त नहुने अवस्था देखिएपछि मुख्यमन्त्री यादव राजीनामा दिन तयार भएका हुन्।

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सो आदेशअनुसार बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो तर सत्तापक्षकै धेरै सांसद अनुपस्थित रहने जानकारी पाएपछि बैठकलाई सारेर दिउँसो २ बजेका लागि राखिएको हो।

एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले आफूहरूले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको बताए। “विश्वासको मत लिँदा पनि बहुमत जुट्ने अवस्था छैन,” उनले रातोपाटीसँग भने, “त्यसैले राजीनामा नै उत्तम विकल्प हो भन्ने हाम्रो सुझाव छ।”

मुख्यमन्त्री यादवले पनि आफू निकटस्थहरूसँग राजीनामा दिने तयारी भएको बताएका छन्। “दिउँसो २ बजेको प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर राजीनामा दिने योजना बनाइएको छ,” मुख्यमन्त्री निकट एक सांसदले भने, “राजीनामाको भाषाबारे अहिले छलफल भइरहेको छ।”

मुख्यमन्त्री यादव गत कात्तिक २३ गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दल एमालेका नेता भएको हैसियतमा नियुक्त गरेकी थिइन्। यसअघि तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि उनी नियुक्त भएका थिए। तर उनको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो।

मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चुलिँदाचुलिँदै प्रदेश प्रमुख भण्डारीलाई सरकारले फिर्ता गरिसकेको छ भने सभामुख रामचन्द्र मण्डल पनि पदबाट हटिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!