
विराटनगर। विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई गहुँ र मकैको बीउ वितरण शुरू गरेको छ।

मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे र आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौलाले अनुदानयुक्त बीउ वितरण गरेका हुन्।
कृषि तथा पशुपन्छी शाखाका संयोजक हीरालाल यादवका अनुसार कार्यक्रममार्फत १० हजार ६३८ केजी गहुँ र ७१४ केजी मकैको बीउ वितरण गरिएको हो। कृषि क्षेत्रमा आकर्षण बढाउने उद्देश्यसहित महानगरका ३६ समूहमा आवद्ध कृषकहरूलाई यो बीउ प्रदान गरिने उनले बताए।
संयोजक यादवका अनुसार महानगर क्षेत्रमा करिब ९०० हेक्टरमा गहुँ र ३०० हेक्टरमा मकैखेती हुने गर्दछ।