
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले समाज र राजनीति बुझ्न ठण्डा दिमागले सोच्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार धनगढीमा आयोजित एकता सन्देश सभामा बोल्दै उनले धर्तीमा राम्रा–नराम्रा, इमानदार–बेइमान, राम–रावण दुवै थरी मानिस हुने भएकाले सबैलाई एउटै रूपमा हेर्न नहुने बताए।
नेपालका शब्दमा,
“यस धर्तीमा भ्रष्ट पनि छन्, स्वच्छ पनि छन्। राम पनि छन्, रावण पनि छन्। संसार सम्हाल्न ठण्डा दिमाग चाहिन्छ। यो देश हामीले बनाउने हो, विदेशीले होइन।”
उनले सामाजिक सद्भाव, सुशासन, नैतिकता र विविधता सम्मानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार समाजवाद भनेको न्यायपूर्ण व्यवस्था, सबैको विकास र खुसी जीवनको सुनिश्चितता हो।
नेपालले सुदूरपश्चिमका कार्यकर्तालाई आफ्नो दललाई प्रदेशमा पहिलो शक्तिका रूपमा स्थापित गर्न आह्वान गर्दै गाउँ–टोलसम्म पुगेर संगठन विस्तारमा सक्रिय हुन आग्रह गरे।