
काठमाडौं। बाराको सिमरामा बुधबार र बिहीबार बढेको तनावपछि मधेस प्रदेशका ‘जेनजी’ समूहका सदस्यहरू वार्ताका लागि संयोजक सुधन गुरुङको पर्खाइमा बसेका छन्। मंसिर ३ देखि बिग्रिएको अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय बाराले मंसिर ४ गते सम्बन्धित सबै पक्षलाई छलफलमा बोलाएको थियो।

तर जेनजी समूहका प्रतिनिधि प्रशासनसँगको बैठकमा सहभागी नभई सुधन गुरुङको प्रतीक्षामा रहेका छन्। जेनजी बारा संयोजक सम्राट उपाध्यायका अनुसार, “सुधन गुरुङ आएपछि पहिलो चरणमा हामीबीच बैठक हुन्छ, त्यसपछि मात्र प्रशासनसँग वार्ता गरिनेछ।”
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रशासनले ‘अब वार्ता आवश्यक छैन’ भन्ने दाबीको खण्डन गर्दै भने, “हामीले छलफलका लागि बोलाएका हौँ र जेनजी प्रतिनिधिको प्रतीक्षामा छौँ। विश्वासको वातावरण बनाउन वार्ता आवश्यक नै छ। अरू माग पूरा हुँदैछन्।”
बुधबार सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच झडप भएको थियो। जेनजीले सिमरा विमानस्थलको गेट तोडफोड गरेका थिए। उनीहरूले आफूहरूमाथि कुटपिट भएको भन्दै बिहीबार पनि प्रदर्शन दोहोर्याएका थिए।
जेनजी समूहले उजुरीमा नाम भएका सबैलाई पक्राउ गर्नुपर्ने माग राखेको छ। बाराका एक प्रहरी अधिकारीका अनुसार हालसम्म घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ।