
काठमाडौँ – माइतीघर मण्डलामा गत कात्तिक २५ गतेदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले अनशन तोडेका छन्। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उनका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सिंहले १० दिनसम्म चलेको अनशन तोडेका हुन्।

सिंहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको माग पूरा गर्नुपर्ने लगायत चार बुँदे माग राखेर अनशन सुरु गरेका थिए।
सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र स्वकीय सचिव धिरज जोशी उपस्थित रहेर सिंहलाई माग सम्बोधन गरिदिने प्रतिबद्धता पत्र प्रदान गरेपछि, देशको वर्तमान अवस्था दृष्टिगत गर्दै उनले अनशन तोडेको जानकारी दिएका छन्।
