
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति (केकेस) बैठक फेरि एक पटक स्थगित भएको छ। गत बिहीबार सूचना जारी गरी सारिएको बैठकलाई पटक–पटक रोक्दै आएको पार्टीले बिहीबार पुनः अर्को सूचना जारी गर्दै बैठक मंसिर ६ गते (शनिबार) दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,
“आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। अब सो बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ। पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ।”
असोज २८ गतेदेखि सुरु भएको बैठकमा बिहीबारसम्म पदाधिकारी र सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको थियो। त्यसपछि महाधिवेशनको मिति टुंगो लगाने उद्देश्यले अनौपचारिक छलफलमार्फत सहमतिको प्रयास भइरहे पनि निष्कर्ष ननिस्केपछि बैठक पटक–पटक सारिएको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पहिलो चरणमा बैठक शुक्रबारबाट सारेर शनिबार बोलाएका थिए। आन्तरिक छलफलमा सहमति नजुटेपछि बैठक पुनः सोमबार दिउँसो २ बजेसम्म सारियो। सोमबार पनि प्रगति नभएपछि बैठकलाई एकैपटक मंसिर ४ गते बिहीबार सम्मका लागि सारिएको थियो। तर पुनः निर्णय बदल्दै अब मंसिर ६ गते बैठक बस्ने भएको छ।
