
विराटनगर। भारतको पुनामा हुन लागेको ईन्डोरेन्स वर्ल्ड च्याम्पियनसिप स्केटिङ प्रतियोगितामा सहभागी हुन विराटनगरका बाल–बालिका खेलाडी मंगलबार भारत प्रस्थान गरेका छन्। नेपाल रोलर स्केटर्सका मोरङ्ग जिल्ला अध्यक्ष सुरज कामतको नेतृत्वमा नोभेम्बर २२ र २३ मा आयोजना हुने प्रतियोगितामा विराटनगरका आठ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

सहभागी खेलाडीहरू जे.सी. वाल सदन, पिटर पेन्स प्लेपेन र सृजना माध्यमिक विद्यालय,डिपिएस स्कुलमा अध्ययनरत छन्। ६ देखि ९ वर्ष उमेर समूहका खेलाडीमा कुनाल कामत, काइरव लुनिया, साक्षी चौधरी, रियान्स कोचर, तुस्याल लुनिया जैन, कुनाल साह, रियान्स काब्रा र अयान्स भगत रहेका छन्।
प्रतियोगितामा सहभागी खेलाडीहरूलाई बिदाइ गर्न विभिन्न संघ–संस्थाले सहयोग गरेको छ। विराटनगर लेडिज सर्कल ५ ले खेलाडीहरूलाई ट्र्याकसुट प्रदान गर्दै शुभकामना व्यक्त गरेको छ। त्यस्तै, च्याम्पियन्स कराँते एकेडेमीका सञ्चालक तथा कोच, तथा नेपाल रोलर स्केटर्स एसोसिएसनका जिल्ला अध्यक्ष सुरज कामतले एकेडेमीको तर्फबाट टी–सर्ट वितरण गरे।
अध्यक्ष कामतले खेलाडीहरूको क्षमताप्रति विश्वास व्यक्त गर्दै उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा देशको नाम उज्ज्वल बनाउन सफल हुने आशा व्यक्त गरे।