काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र घुसपैठमा संलग्नहरूमाथि छानबिन गरी कडाभन्दा कडा कारबाही हुने स्पष्ट पारेका छन्।
आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राममा भएको छलफलमा उनले सरकार दोषीलाई उन्मुक्ति नदिने प्रतिवद्धता जनाए।
उनले फागुन २१ गतेको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउँदै, सबै दल सहभागी हुने विश्वास व्यक्त गरे। संवादहीनता अन्त्य भएसँगै देश निर्वाचन प्रक्रियामा अघि बढेको उनको भनाइ छ।
छ महिनाको अवधिमा सुशासन र भ्रष्टाचार नियन्त्रणको पहल जनताले अनुभूत गर्ने गरी अघि बढ्ने उनले बताए। मुलुक अझै जोखिममा रहेको भन्दै उनले गम्भीर सोचसहित अगाडि बढ्न सबैलाई आग्रह गरे।
मन्त्री खरेलले अनलाइन सञ्चारमाध्यमहरूको दर्ता र नवीकरण प्रक्रिया तिहारअघि सुरु हुने जानकारी दिँदै, पत्रकारहरूको सामाजिक सुरक्षाका लागि गृहकार्य भइरहेको बताए।