बिराटनगर । मोरङ कारागारमा १४३ जना कैदीबन्दीले रगत दान गरेका छन्। गिरि फाउन्डेसन मोरङको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको सहजीकरणमा आज कारागार परिसरमै रगतदान कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा कारागारमा विभिन्न कसुरमा रहेका कैदीबन्दीहरुले उत्साहपूर्वक सहभागिता जनाउँदै रगत दान गरेका हुन्। मोरङ जिल्लामा हाल रगतको अभाव रहेको अवस्थामा यो अभियानले केही सहजता ल्याउने विश्वास गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरिले व्यक्त गर्नुभयो।
“कैदीबन्दीहरुले समाजप्रतिको उत्तरदायित्व र मानवीय संवेदना प्रकट गर्दै अरुको जीवन बचाउन सहयोग गरेका छन्,” अध्यक्ष गिरिले भन्नुभयो। त्यस्तै, नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुकदेव मण्डलले कैदीबन्दीहरुलाई धन्यवाद दिँदै यो कार्य मानवताको उत्कृष्ट उदाहरण भएको टिप्पणी गर्नुभयो।
रगतको अभावका कारण बिरामीहरूले कठिनाइ भोग्नुपरेको सन्दर्भमा यो रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।