काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्।
देउवा अनुपस्थित रहने भएपछि बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन्। कांग्रेसले बिहीबार दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएको हो।
भदौ २३ र २४ गतेको ‘जेन–जी विद्रोह’पछि देउवा पहिलोपटक पार्टी बैठकमा सहभागी हुने भनिएको थियो। तर उनका स्वकीय सचिव भानु देउवाले सभापति बैठकमा उपस्थित नहुने जानकारी दिएका छन्।
जेन–जी आन्दोलनका क्रममा कुटपिटमा परेका देउवाले पछिल्ला दिनमा पार्टीभित्र सम्मानजनक रूपमा बहिर्गमन गर्न चाहना देखाउँदै आएका छन्। यसबीच कांग्रेसले आगामी असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।