काठमाडौँ, असोज १५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चाडपर्वको समयमा असन्तुलित र अस्वस्थ माछा-मासुको अत्यधिक प्रयोगले स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

उनका अनुसार अस्वस्थ मासु, अत्यधिक चिल्लो परिकार र जंकफुडको सेवनले १६० भन्दा बढी प्रकारका रोगहरूको जोखिम निम्तिन्छ। दीर्घरोगीहरूका लागि त यस्ता खानेकुराले झनै जटिलता ल्याउन सक्छ।

“गोठदेखि ओठसम्म शुद्ध हुनुपर्छ”

डा. बुढाथोकीले रोगी पशुपंक्षी वा अस्वस्थ वधशालाबाट ल्याइएको मासु प्रयोग नगर्न आग्रह गर्दै भने, “गोठदेखि ओठसम्म शुद्ध भएपछि मात्र मासु सेवन गर्नुपर्छ।”

उनले खासगरी सेकुवा, तारिएको वा भुटेको मासु बढी खाँदा पाचन प्रणालीमा असर पुग्ने, कब्जियत, झाडापखाला तथा लामो समय सेवन गरेमा खाद्य नलीको क्यान्सरसम्म हुने खतरा रहेको बताए।

मासु कसरी खाने ?

प्रवक्ता डा. बुढाथोकीले मासु सुरक्षित रूपमा पकाएर मात्रै खान सुझाव दिएका छन्।
उनका सल्लाहहरू यस्ता छन्:

  • पकाउने तरिका: प्रेसर कुकरमा कम्तीमा ५–६ सिठी लगाई राम्ररी पकाउनु। झोलिलो परिकारलाई प्राथमिकता दिनु।

  • सन्तुलित भोजन: मासुका साथमा हरियो सागसब्जी, दाल र सलाद पनि समावेश गर्नु।

  • सेतो मासु रोज्नु: कुखुरा, माछाजस्ता पंक्षीको मासु (सेतो मासु) स्वास्थ्यका लागि उपयुक्त। रातो मासु (खसी, बोका, राँगा) कम मात्रामा सेवन गर्नुपर्ने।

  • व्यायाम निरन्तरता: चाडपर्वमा पनि बिहानको हिँडडुल (मर्निङ वाक) वा शारीरिक व्यायाम नछोड्न आग्रह।

दीर्घरोगीका लागि विशेष सतर्कता

डा. बुढाथोकीले दीर्घरोगीहरूका लागि विशेष सावधानी आवश्यक भएको बताउँदै नियमित औषधि समयमै सेवन गर्न, चाडबाडको बेला औषधिको अभाव नहोस् भनेर पहिले नै तयारी गर्न पनि सुझाव दिएका छन्।

उनले थपे, “चाडपर्वको रमाइलो त हुनैपर्छ, तर स्वास्थ्यको ख्याल नगरी गरिने असन्तुलित खानपानले त्यो खुशी गम्भीर समस्यामा बदलिन सक्छ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!