काठमाडौं —नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई बिनाकारण हटाइएको गुनासो गर्दै, सरकारले कस्तो व्यवहार गर्छ त्यसअनुसार अगाडि बढ्ने बताएका छन्।
शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो। शाक्यका अनुसार सरकारले सकारात्मक उद्देश्यसहित सरुवा गरेको हो भने आफू आयोगमा बसेर पनि सरकारलाई सहयोग गर्न तयार छन्। तर, यदि निर्णय प्रतिसोधपूर्ण हो भने उनी त्यसअनुसार प्रतिक्रिया दिने सोचमा छन्।
उनले भने, “सरकारले मेरो विशेषज्ञता उपयोग गर्न चाहन्छ भने म तयार छु। तर, काम गर्ने अवसर नदिई हटाइयो भने त्यसले निराशा मात्र दिन्छ।”
दुई पटक प्राधिकरणमा नियुक्ति पाए पनि उल्लेखनीय काम गर्ने मौका नपाएको भन्दै उनले दुःख व्यक्त गरे। हाललाई कानुनी लडाइँमा जाने कुनै योजना नरहेको उनले स्पष्ट पारे।