विराटनगर, नेपाल – नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासले विराटनगर महानगरपालिकाको औपचारिक भ्रमण गरेका छन्। बुधबार भएको भेटघाटका क्रममा उनले मेयर नागेश कोइरालासँग आपसी सहकार्य र द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल गरेका हुन्।
उक्त भेटमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल समेत सहभागी थिए। छलफलमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपीन जोशीको सकुशल रिहाइको पहल, सूचना प्रविधि र कृषिक्षेत्रमा नेपाली युवालाई इजरायलमा रोजगारको अवसर प्रदान गर्ने विषयमा विस्तृत कुराकानी गरिएको थियो।
राजदूत बासले विराटनगर र इजरायलको वीर शिभा नगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्भावनाबारे समेत सकारात्मक संकेत दिएका छन्। यस अवसरमा मेयर कोइरालाले इजरायल–इरान युद्धका समयमा नेपाली नागरिकको सुरक्षित उद्धारमा इजरायली सरकारद्वारा गरिएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै राजदूतमार्फत धन्यवाद ज्ञापन गरे।