नयाँ दिल्ली, १५ अगस्ट २०२५ — आज भारतले आफ्नो ७९औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइरहेको छ। हरेक वर्ष १५ अगस्टमा भारतीय जनताले ब्रिटिस उपनिवेशवादको अन्त्य र एक स्वतन्त्र राष्ट्रको रूपमा भारतको जन्मको सम्झना गर्दै यो ऐतिहासिक दिन मनाउँदै आएका छन्।
यो दिन भारतको स्वतन्त्रता सङ्घर्षमा अनगिन्ती देशभक्तहरूको त्याग, संघर्ष र बलिदानको सम्मान गर्ने अवसर हो। महात्मा गान्धीद्वारा प्रेरित असहयोग आन्दोलन, सविनय अवज्ञा, र भारत छोडो आन्दोलनजस्ता अहिंसात्मक संघर्षहरूले भारतको स्वतन्त्रताको मार्ग प्रशस्त गरे।
सन् १९४७ को १५ अगस्ट, मध्यरातको समयमा भारतले ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गर्यो। त्यही ऐतिहासिक रातमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले ‘नियतिसँगको भेट’ भन्ने ऐतिहासिक भाषणमार्फत स्वतन्त्र भारतको यात्राको थालनी गरे।
यस दिन भारतभर देशभक्ति र एकताको भावनाका साथ विविध सांस्कृतिक कार्यक्रम, झन्डोत्तोलन र राष्ट्रगानका साथ उत्सव मनाइन्छ। मुख्य समारोह राजधानी दिल्लीस्थित ऐतिहासिक लाल किल्लामा आयोजना गरिन्छ, जहाँ प्रधानमन्त्रीले राष्ट्रिय झन्डा फहराउने परम्परा छ।
यस वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार १२औँ पटक लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै तिरंगा फहराउनेछन्। समारोहमा देशभरका २६ राज्य तथा केन्द्र शासित प्रदेशबाट चयन गरिएका ८५ गाउँका सरपञ्चहरूलाई विशेष अतिथि बनाइएको छ।
लाल किल्ला र वरपरको क्षेत्र कडा सुरक्षा घेरामा राखिएको छ। ११ हजारभन्दा बढी सुरक्षाकर्मी, ३ हजार ट्राफिक प्रहरी, एन्टी-ड्रोन युनिट, स्नाइपर, अनुहार पहिचान प्रणाली, र सीसीटीभी निगरानीजस्ता बहुस्तरीय सुरक्षा व्यवस्था मिलाइएको छ।
भारतको स्वतन्त्रताको ७९ वर्षे यात्राले विश्वलाई लोकतन्त्र, विविधता, र सहिष्णुताको एक अनुपम उदाहरण प्रस्तुत गर्दै आएको छ।