पथरी । पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीका विषयमा शुक्रबार पथरी बहुमुखी क्याम्पसमा विशेष परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। नेपाली विषय अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङको चर्चित कविता “बिसे नगर्चीको बयान” लाई केन्द्रीय विषयवस्तु बनाइएको थियो।
कविता बि.एड. दोस्रो वर्षको नेपाली पाठ्यक्रममा समावेश गरिएको छ। क्याम्पसको नेपाली विभागद्वारा आयोजित कार्यक्रममा प्रमुख वक्ता “गुमनाम एक इतिहास : बिसे नगर्ची” पुस्तकका लेखक तथा अनुसन्धानकर्ता दीपेन्द्रराज तिम्सिना रहनुभएको थियो।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख चेतननाथ पौडेलले तिम्सिनाले बिसेको जन्मस्थल गोरखा पुगेर गहिरो अनुसन्धान, अध्ययन र तथ्य संकलन गरी पुस्तक तयार पारेको जानकारी दिनुभयो। लेखक तिम्सिनाले पृथ्वीनारायण शाहलाई ‘पृथ्वीनारायण’ बनाउने यात्रामा बिसे नगर्चीको महत्वपूर्ण भूमिका रहेको बताउँदै, राज्य सञ्चालनमा सशक्त सल्लाहकारको आवश्यकता कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरणस्वरूप बिसेलाई प्रस्तुत गर्नुभयो।
उनले हालसम्म बिसे नगर्चीलाई राष्ट्रिय रुपमा उचित सम्मान नदिएको भन्दै हुलाक टिकटमा समेत नाम समावेश नगरिनु दुखद भएको बताए। साथै, राष्ट्रिय दलित आयोगमा बिसे नगर्चीलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रमाणसहित निवेदन पेश गरिसकेको जानकारी पनि दिनुभयो।
नेपाली विभाग प्रमुख सरिता भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापक संघ अध्यक्ष उपेन्द्र बस्नेत, सचिव लक्ष्मी ढुंगेल, नेपाली विषयका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो। बिसे नगर्ची सम्बन्धी प्रश्नहरूको जवाफ वक्ता तिम्सिनाले दिएका थिए।