सुनसरी, साउन १९। अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव तीव्र बनेको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानी बगेको मापन गरिएको थियो।
आज बिहानको मापनअनुसार पानीको बहाव प्रतिसेकेण्ड एक लाख ७५ हजार ६८५ क्युसेक रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। ब्यारेजका ५६ ढोकामध्ये २३ ढोका खोलिएको छ।
पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सावधानीका लागि ब्यारेजमा रातो बत्ती बालिने प्रावधानअनुसार अहिले खतरा संकेतस्वरूप बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।
२०६५ भदौ २ गते, जब पानीको बहाव एक लाख ६८ हजार क्युसेक पुगेको थियो, सप्तकोशीले पूर्वी तटबन्ध भत्काउँदै ठुलो क्षति पुर्याएको स्मरणीय छ।