पथरीशनिश्चरे । पथरीमा जारी नगर खेलकुद महोत्सव अन्तर्गत आजको अन्तिम क्वाटरफाईनलमा देविगन्ज फुटबल क्लबले पुलचोक फुटबल क्लबलाई ५-१ ले पराजित गरेको छ ।
खेलको १० औं मिनेटमा देविगन्जका खेलाडीले पाएको गोल गर्ने सुनौलो अवसर पोलमा ठोक्किएर बाहिरिएको थियो भने १२ औं मिनेटमा पुलचोकका गोलरक्षक क्रिस धिमालले बचाएका थिए ।
२९ औं मिनेटमा पुलचोकका डिफेन्डर राजन धिमालले आत्मघाती गोल गरेपछि देविगन्जले अग्रता लिएको थियो । ३१ औं मिनेटमा देविगन्जका क्याप्टेन सन्तोष न्यौपानेले गोल गर्ने अवसर पाएपनी पोलमा ठोक्किएर बाहिरिएको थियो ।
पहिलो हाफसम्म १ गोलले पछि परेको पुलचोक दोस्रो हाफको शुरूवात संगै ४१ औं मिनेटमा देविगन्जका मिक्सन दासले १ गोल थपेपछी २ गोलले पछि परेको थियो । यस्तै ४५ औं मिनेटमा देविगन्जका भिषण राईले १ गोल थप्दै देविगन्जलाई ३-० को अग्रता दिलाएका थिए ।
देविगन्जका खेलाडीहरुको एकपछि अर्को आक्रमणले निरीह बनेको पुलचोकको जालिमा देविगन्जका क्याप्टेन सन्तोष न्यौपाने र स्ट्राईकर मिक्सन दासले ५६ र ६५ औं मिनेटमा पुन: १/१ गोल थप्दै पुलचोकसंग ५-० को फराकिलो अन्तर बनाएका थिए ।
खेलको ७० औं मिनेटमा पुलचोकमा रेहमान आचार्यले सान्त्वना गोल फर्काएका थिए । खेलको ईन्जुरी समयमा मिक्चन दासले ह्याटि्रक गर्ने अवसर पाएपनी पोलमा टोक्किएर सफल हुन सकेनन् । यो जित संगै देविगन्ज सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजको खेलमा म्यान अफ द म्याच देविगन्जका वसन्त लिम्बू भए । उनले ट्रफि सहित नगद २ हजार प्राप्त गरे ।
भोलिको पहिलो सेमिफाइनल नाजरिन फुटबल क्लब र प्रभात सामुदायिक युवा क्लब बिच हुनेछ ।