उमेस मगरको सानदार ह्याट्रिकको सहयोगले पथरीमा आज सम्पन्न खेलमा पुलचोक फुटबल क्लब विजयी भएको छ ।
पथरीशनिश्चरेमा जारि नगर खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगिताको आजको खेलमा पुलचोक फुटबल क्लबले हसन्दह राईजिङ स्टार फुटबल क्लबलाई ४-२ ले पराजित गरेको हो ।
खेलको शुरूवात संगै दोस्रो मिनेटमा हसन्दह राईजिङ स्टारका क्याप्टेन नितेस राईले पहिलो गोल गर्दै हसन्दहलाई अग्रता दिलाएका थिए । पुलचोकका गोलरक्षक क्रिस धिमालको हातबाट बल चिप्लिएपछि राईको प्रहारले जालि चुमेको थियो ।
पुलचोक फुटबल क्लबका स्ट्राईकर उमेस मगरले १४ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । २५ औं मिनेटमा स्ट्राईकर मगरले पुनः १ गोल थपेपछि पुलचोकले २-१ को अग्रता लिएको थियो । २८ औं मिनेटमा हसन्दहका गोलरक्षक एलेक्स खत्री घाईते भएपछि उनको स्थानमा निर्जल कार्की प्रवेश गरेका थिए । खेलको ३६ औं मिनेटमा पुलचोकका लेखराज कार्कीले पुलचोकको खातामा पुनः १ गोल थपेका थिए ।
पहिलो हाफसम्म निकै प्रतिस्पर्धात्मक रहेको खेलमा पुलचोकले मध्यान्तर पछि गोलरक्षक परिवर्तन गरेको थियो । ६५ औं मिनेटमा स्ट्राईकर उमेस मगरले तेस्रो गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरेका थिए ।
निर्धारित ७० मिनेट सकिएपछि थपिएको अतिरिक्त समयमा पुलचोकका गोलरक्षकले डि बक्स एरियामा फउल गरेपछि हसन्दहले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई हसन्दहका क्याप्टेन नितेस राईले सदुपयोग गर्दै सान्त्वना गोल थपेका थिए ।
४-२ को गोल अन्तरले खेल आफ्नो पक्षमा पारेको पुलचोकका स्ट्राईकर उमेस मगर खेलको म्यान अफ द म्याच घोषित भए । भोलिको खेल प्रभात सामुदायिक युवा क्लब र सिरिजंगा फुटबल क्लब बिच हुनेछ ।