बिहिबार, चैत्र १३, २०७६ || 697  पटक पढिएको

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ का लक्ष्मण साहको परिवार आज बिहान सुतिरहेकै बेला गाउँपालिकाका अध्यक्षसहितको टोली साबुन, मास्क र स्यानिटाइजर बोकेर उहाँको घर पुग्यो । ढोका ढक्ढकाउँदा बल्ल ओछयानबाट उठेका साह तथा उहाँका परिवारजनले बिहानै गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहसहितको टोलीलाई आफ्नो दैलामा देखेपछि एकछिन अकमक्क परेका थिए । त्यसपछि गाउँपालिकाका अध्यक्ष साहले उहाँको परिवारजनका सबै सदस्यलाई मास्क वितरण गर्दै कोरोना भाइरसबाट जोगिन साबुनपानीले नियमित हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेपछि बल्ल उहाँका परिवारजनले गाउँपालिका अध्यक्षसहितको टोली जनचेतना दिन आएको बुझेका थिए । कोरोना भाइरसको लक्षण र त्यसबाट आफू कसरी बच्ने तथा अरुलाई बचाउन सकिने भन्ने जनचेतनामूलक पर्चा लिएर गोलबजार नगरपालिका ५ मा पुग्नुभएका नगरप्रमुख देवनाथ साहले मास्क र साबुन वितरण गरेपछि सर्बसाधारणहरु दङ् परेका थिए । कोरोनाबाट जोगिनका लागि नियमित मास्क लगाउन, साबुनपानीले मिचिमिची हात धुन र भीडभाडमा नगएर घरमै बस्न आग्रह गरेपछि उपस्थित स्थानीयवासीले नगरप्रमुखको कामको प्रशंसा गर्दै सुझावनुसार नै नियमित व्यहार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गोलबजार नगरपालिका प्रमुख र लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष मात्रै होइन, यतिबेला सिरहाका अधिकांश जनप्रतिनिधि आफ्ना नागरिकलाई कोरोनाको सङ्क्रमणबाट जोगाउन मास्क, साबुन, स्यानिटाइजरलगायत सरसफाइ सामग्री वितरण गर्दै जनचेतना जगाउन सक्रिय बन्नुभएको छ । महामारीको सन्त्रासले त्रसित बनेका आफ्ना नागरिकलाई भरोसा दिन जनप्रतिनिधि जनताको दैलामा पुग्न थालेपछि नागरिकमा थोरै भए पनि आत्मविश्वास बढ्न थालेको गोलबजार नगरपालिका ३ का श्रवण चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ यसबाट जनतामा रहेको भ्रम केही हदसम्म भएपनि हटेको छ र यसबाट प्रतिनिधिप्रतिको भरोसा बढ्न थालेको छ ।” सिरहामा १७ स्थानीय तह छन् । ती तहका जनप्रतिनिधिमध्ये अधिकांश यति बेला स्थानीय तहमा कोही गाउँगाउँमा कोरोना भाइरससम्बन्धी जनचेतना जगाउनमा व्यस्त छन् भने कोही क्वारेन्टाइन स्थापना गर्नमा सक्रिय बनेका छन् । लक्ष्मीपुर गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले भन्नुभयो, ‘‘ हाम्रो पालिकाका सबै व्यक्तिलाई मास्क र सबै परिवारमा साबुन पु¥याइरहेका छौंँ ।” कुल पाँच वडामध्ये दुई वटा वडामा मास्क र साबुन बाँडिसकिएको र बाँकी वडामा समेत बाँड्ने काम भइरहेको उहाँको भनाइ छ । गाउँपालिकामा करीब २७ हजार जनसङ्ख्या छ । सबै स्थानीय तहले टोल टोलमा पुगेर कोरोना भाइरसबाट जोगिन जनचेतनामुलक माइकिङ्ग समेत गरिरहेका छन् । सबै वडाका ठाउँठाउँमा सर्वसाधारणलाई हात धुन साबुनपानीको व्यवस्था मिलाउनाका साथै १० शय्याको क्वारेन्टाइनसमेत स्थापना गरिसकिएको सिरहा कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले बताउनुभयो । आफ्नो गाउँपालिकाभित्र प्रवेश गर्ने सबैलाई अनिवार्य रुपमा साबुनपानीले हात धुने व्यवस्था मिलाइएको र हात धोएर मात्र गाउँपालिकामा प्रवेश गर्न दिने व्यवस्था गरिएको लक्ष्मीपुर पतारीका अध्यक्ष साहको कथन छ । कोरोना भाइरसबाट प्रभावित अन्य मुलुकबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलन भइरहेको सिरहा भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताउनुभयो । भारतीय सीमावर्ती क्षेत्रसँगै जोडिएकाले जोखिम बढेको अध्यक्ष यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ त्यसैले भारतसहित अन्य प्रभावित देशबाट रोग फैलिएपछि यता आएकाहरुको खोजी गरिरहेका छौंँ, त्यस्ताहरुलाई तत्काल सूची तयार पारेर क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेका छौंँ ।” गाउँपालिकाले भारतीय सीमावर्ती क्षेत्र ठाडीमा क्वारेन्टाइन स्थापना गरिसकेको छ । कोरोना महामारीको त्रासले विश्व नै आतङ्कित भइरहेका बेला आफ्ना नागरिकप्रति जनप्रतिनिधिले देखाएको सक्रियता निश्चय नै अनुकरणीय रहेको लहान नगरपालिका ७ का राजेश गुप्ता बताउनुहुन्छ । देश नै सङ्कटमा पर्न लागेका बेला जनतालाई भरोसा दिँदै जोगिने विधिबारे घरघरमा बुझाउन जनप्रतिनिधिले खेलेको भूमिकाबाट जनता र जनप्रतिनिधिबीच अझ सम्बन्ध मजबुत हुने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!