काठमाडौं ।सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।
अख्तियारले छानविन गर्दा नै मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने भएपनि नदिएको भन्दै जनमत पार्टीले मुद्दा दायर भएपनि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने जनाएको हो ।
कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ ।
सो पार्टीले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा व्यापक भ्रष्टाचार भएको भन्दै यसअघि नै प्रश्न उठाउँदै आएको थियो ।
राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप पनि सो पार्टीले लगाएको छ ।
मधेस प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित आठ जनाविरुद्ध बुधबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।