
पाँच दलीय गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदको मनोनयन दर्ता गरेका नागेश कोइरालाको जन्म बुवा उमेश कोइराला र माता जया कोइरालाको कोखबाट वि सं २०३० साल जेठ ३१ गते विराटनगरमा भएको हो ।

विद्यालय अध्ययन गर्दादेखि नै राजनीतिमा लागेका कोइरालाले युनिभरसिटी अफ बावियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गर्नु भएको छ । २०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष हुँदै २०५६ सालमा सभापतिसमेत हुनु भइसक्नु भएको छ । त्यस्तै २०६६ सालमा नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष र २०७२ सालमा सचिवमा अत्याधिक मतका साथ निर्वाचित हुनु भएका कोइराला २०७८ सालमा सम्पन्न १४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित हुनु भयो ।
कोइराला सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । उहाँ रोटरी क्लब अफ विराटनगर मिट टाउनको अध्यक्ष र राउण्ड टेवल–५ विराटनगरको अध्यक्षको जिम्मेवारीसमेत पूरा गरिसक्नु भएको छ । विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष भइसक्नु भएका कोइराला लायन्स क्लब अफ ग्रिनसिटीको सदस्य भइसक्नु भएको छ ।
कोइरालाले कोराना महामारीको समयमा आर्थिक समस्यामा परेकाहरुलाई विराटनगरका १९ वटै र मोरङका विभिन्न स्थानमा पुगेर राहत सामग्रीसमेत वितरण गर्नु भएको थियो । त्यस्तै बाढीपीडितका लागि राहतसँगै लत्ताकपडा र भाँडाकुँडासमेत वितरण गर्नु भएको थियो । ‘सेवा नै धर्म हो’ भन्ने मूलमन्त्रका साथ राजीतिमा लागेका कोइरालाले विराटनगर पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरमा गुरुकुल विद्यालय सञ्चालनका लागि २ करोड मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराउनु भएको छ ।
राजनीतिलाई सेवाका रुपमा आत्मसाथ गरेर अगाडि बढिरहेको बताउनु हुने कोइराला मेयरमा निर्वाचित भएमा पाँच वर्षभित्र विराटनगरवासीले गर्न लायक विराटनगर बनाउने प्रतिबद्धता जनाउनुहुन्छ।