हिपमत डटकम

शनिबार, बैशाख १०, २०७९ || 592  पटक पढिएको

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् ।

स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचारसंहिता जारी गरेकोमा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो ।

निर्वाचन आचारसंहितामा सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने स्पष्ट व्यवस्था भएकाले जनप्रतिनिधिबाहेकका व्यक्तिले पनि राजीनामा दिएका हुन् ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको राजीनामा स्वीकृत हुन समय लाग्ने भएकाले आसन्न निर्वाचनमा उम्मेदवार हुन चाहने त्यस्ता व्यक्तिले केही समय अघिदेखि नै राजीनामा दिन थालेका थिए । यसरी राजीनामा दिनेमा निजामतीतर्फका उपसचिवसम्मका कर्मचारी र माध्यमिक प्रथम श्रेणीका शिक्षक पनि छन् ।

बागमती प्रदेशका नेकपा एमालेका सांसद विजय सुवेदीले भरतपुर महानगरपालिकामा उम्मेदवार हुन राजीनामा दिएका छन् । रौतहटको क्षेत्र नम्बर ४ ‘ख’बाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद शेखअब्दुल कलाम आजादले गढीमाई नगरपालिका प्रमुखको उम्मेदवारी दिन राजीनामा दिएका छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले पनि राजीनामा दिएकी छन् ।नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि उम्मेदवार बन्न पदबाट राजीनामा दिने क्रम शुरू भएको जनाएका छन् । हालसम्म राजीनामा दिनेको यकिन तथ्यांक उपलब्ध भइसकेको छैन ।

नेपालको संविधानले स्थानीय तहका प्रमुखले उपप्रमुखसमक्ष र उपप्रमुखले प्रमुखसमक्ष राजीनामा दिने व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बहालवाला जनप्रतिनिधिले राजीनामा व्यक्तिलाई नभई संस्थालाई सम्बोधन गरेर दिने भएकाले राजीनामा दिने विषयमा अन्योल नभएको प्रस्ट पारे ।

उनले भने, ‘स्थानीय तहका निर्वाचित प्रतिनिधिले राजीनामा दिँदा स्वीकृत गर्नुपर्ने व्यवस्था छैन । प्रमुख व्यक्ति नभई संस्था भएकाले संस्थामा प्रमुख भए पनि नभए पनि प्रमुखलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था छ ।’ उनले राजीनामा पत्र प्रमुख प्रशासकीय अधिकृतले सनाखत गर्ने र सनाखत गरी प्रमाणीकरणको पत्र बनाएपछि सोही पत्रका आधारमा पुनः उम्मेदवार बन्न बाधा नपर्ने बताए ।

बागमती प्रदेशको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले आफूले पुनः अर्को कार्यकालका लागि उम्मेदवार बन्नका लागि उपप्रमुख समक्ष राजीनामा बुझाएको बताए । उनका अनुसार आफूले बुझाएको राजीनामा कार्यपालिकामा छलफल भएको छ । प्रमुख प्रशासकीय अधिकृतले सनाखत गरी राजीनामा गरिएको पत्र बनाएपछि पुनः उम्मेदवार दर्ता गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!