
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति प्रमुख प्रतिपक्षी दल एमाले असन्तुष्ट देखिएको छ । मंगलबार आयोगले ७९ दललाई आयोगमा बोलाई आचारसंहिता पालना गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न लगाएपनि एमाले हस्ताक्षर नगरी फर्किएको थियो । आयोगले बोलाएको सो कार्यक्रममा साना दलहरुले होहल्ला गरेकोले हस्ताक्षर गर्ने अवस्था नभएको बताएको एमालेले आचारसंहितामा केही त्रुटिहरु समेत रहेको बताएको छ ।

आचारसंहिता निर्माणका क्रममा आयोगले दलहरुसँग छलफल नगरेको र प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुअघि पनि दलहरूलाई आफ्नो कुरा राख्ने अवसर नदिएको एमाले नेता सुवास नेम्वाङले बताए । उनले भने, ‘निर्वाचनका लागि आचारसंहिता हुनुपर्छ र आचारसंहिता अनुसार चुनाव हुनुपर्छ भन्नेमा सवैभन्दा बढी दृढ नेकपा एमाले हो । जहाँसम्म एमालेले आचारसंहितामा हस्ताक्षर नगरेको प्रसंग छ,साथीहरु चर्चाको लागि कुन कुरो कता बटार्छन् त्यसमा मेरो टिप्पणी गर्नु छैन । हिजोको प्रसंग अलिकति फरक हो ।’
नेता नेम्वाङले अगाडि भने, ‘हिजो निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको थियो,दलका साथीभाइसँग बुझ्नुस,हिजो आयोगमा छलफल भयो कि भएन ?त्यसबारेमा यस अघिपनि छलफल गराइयो कि गराइएन ?हाम्रो भनाइ त्यतिमात्रै हो,आचारसंहिता जस्तो गम्भीर विषयमा छलफल हुनुपर्छ । छलफल हैन हिजो त आयोगमा लफडा पर्यो । एमालेले लाप्पा खेलेको हैन,अरु दलहरुले नै लाप्पा खेल्नुभयो । यो आचार संहितामाथि छलफल गर्नुपर्यो,छलफल नै नगरी सही गर्ने कुरा त ठीक भएन । त्यहाँ त्यस्ता केही विषयहरु छन्,त्यसमा हाम्रा असहमति छन् । त्यसबारेमा छलफल गरौं न भन्ने भनाइ एमालेको हो । त्यसमा छलफल गरिएन । छलफल नगरीकनै बैठक उठ्यो ।’