हिपमत डटकम

शुक्रबार, चैत्र १८, २०७८ || 551  पटक पढिएको

नेपाली कांग्रेसले वडाध्यक्षका उम्मेदवार सिफारिस गर्न तीन दिनको समय दिएको छ।

चैत २१ भित्र वडाध्यक्षका आकांक्षीका नाम पार्टीको उपल्लो तहमा पठाइसक्नुपर्ने हुन्छ।

कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै उम्मेदवार सिफारिसको तालिका पठाएको छ।

केन्द्रका परिपत्रअनुसार जिल्ला कार्यसमितिले वडा कार्यसमितिलाई वडाध्यक्षका उम्मेदवारको सिफारिस गर्न परिपत्र गरेको छ।

वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार हुन चाहनेबाट निवेदन आह्वान गर्ने र चैत २० मा बैठक गरेर वडाध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्न कांग्रेसको निर्देशन छ।

वडाध्यक्ष सिफारिस गर्दा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ।

यस्तै वडा सदस्यका लागि खुला दुई सिटमा दुई महिलासहित ६ जनाको नाम सिफारिस गर्नुपर्नेछ। दलित महिला कोटामा बढीमा तीन जना दलित महिला मात्र सिफारिस गर्न कांग्रेसको निर्देशन छ।

वडा कार्यसमितिले वडाध्यक्षका लागि सर्वसम्मत उम्मेदवार चयन गर्ने हो भने पनि चैत २० मै टुंगो लगाउनुपर्नेछ।

वडाले चैत २१ गते वडाध्यक्ष र वडा सदस्यहरूको नाम सिफारिस गरी पालिका कार्यसमितिमा पठाउनुपर्ने हुन्छ।

पालिकाले भने चैत २३ मा उम्मेदवार सिफारिस गर्नुपर्ने तालिका कांग्रेसले बनाएको छ। पालिकाले उम्मेदवार सिफारिस गरेर प्रदेश सभा क्षेत्र पठाउनेछ।

प्रदेश सभा कार्यसमितिले चैत २५ मा उम्मेदवार सिफारिसको सूची प्रतिनिधि सभा क्षेत्रमा पठाउने र प्रतिनिधि सभा क्षेत्रले चैत २७ भित्र उम्मेदवार जिल्लामा पठाउनेछ।

जिल्लाले चैत २९ मा तल्ला तहबाट आएका उम्मेदवार सूची प्रदेशमा पठाउनुपर्नेछ। सम्बन्धित प्रदेशले वैशाख १ मा केन्द्रीय कार्यालयमा उम्मेदवार सूची पठाउनुपर्ने कांग्रेसको परिपत्रमा उल्लेख छ।

उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गर्नुभन्दा पहिले प्रत्येक कार्यसमिति बैठक गरी निर्णय गर्नुपर्ने पनि कांग्रेसले निर्देशन दिएको छ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले उम्मेदवार सिफारिसका लागि परिपत्र गर्दै निर्देशन दिएको हो।

साथै कांग्रेसले विधानअनुसारका संसदीय समिति, कार्यसम्पादन र अनुशासन समिति तत्काल गठन गर्न पनि निर्देशन दिएको छ।

कांग्रेसमा उम्मेदवारलाई टिकट दिन प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा संसदीय समिति रहने व्यवस्था छ।

कांग्रेसले वैशाख ३० मा हुने स्थानीय चुनावमा महानगरका लागि भने केन्द्रबाटै उम्मेदवार सिफारिस गर्ने भनेको छ।

तर केन्द्रीय संसदीय समिति भने बनेको छैन। सभापतिसहित केन्द्रीय पदाधिकारी र ११ जना केन्द्रीय सदस्य रहने संसदीय समिति सभापति शेरबहादुर देउवाले बनाएका छैनन्।

यसैबीच सत्तारूढ पाँचदलीय गठबन्धनले स्थानीय चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय बिहीबार गरेका थिए। त्यसअघि कांग्रेसले पनि स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

गठबन्धनले प्रदेश, जिल्ला र पालिकातहमा पनि पाँचदलीय प्रतिनिधि रहने संयन्त्र बनाउने र कुन दलको कस्तो अवस्था छ भन्ने प्रतिवेदन बनाएर केन्द्रमा पठाउनसमेत भनेको छ।

गठबन्धनबाट बन्ने संयन्त्रले प्रतिवेदन बनाउन सुरू नगर्दै कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवारको नामावली सिफारिस गर्न परिपत्र गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!