
कतारले भदौ २ देखि फागुन २२ सम्ममा अफगानिस्तानबाट ७५ हजारभन्दा बढीको उद्धार गरेको छ । कतार सरकारले अफगानिस्तानमा शान्ति स्थापनार्थ काम गर्दै आएको छ ।

तालिबानले अफगानिस्तानमा शक्ति संघर्ष गर्दै राजधानीलगायत सबै शहर कब्जामा लिएपछि तनाव सिर्जना भएको थियो ।
लामो समयदेखि नेटो सेनाको सुरक्षा घेरामा रहेको अफगानिस्तानमा तालिबानले हरेक वर्ष विदेशी सेनासँग लड्ने योजना सार्वजनिक गर्ने गरेको थियो । केही समय अगाडि अमेरिकाले आफ्नो सेना फिर्ता लगेसँगै तालिबानले सिंगो अफगानिस्तान कब्जामा लिन सफल भयो ।
तालीवानी कब्जासँग रणभूमि बनेको अफगानिस्तानमा शान्ति स्थापना गर्न सरोकारवाला पक्षलाई कतारमै सुरक्षित रूपमा राखी वार्ता र संवादबाट समस्या समाधान गर्न प्रेरित गरेको कतार सरकारले जनाएको छ ।
तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानमा शरिया कानून लागू गर्ने घोषणा गरेपछि महिलाहरूलाई घरबाहिर निस्कनै मुस्किल हुने विषय विश्वव्यापी रूपमा उठिरहेको छ । यसबाहेक तालिबानको सत्ता कब्जापछि मुलुक छोड्न चाहनेहरूको ठूलो भीड देखिएको थियो ।
अन्य देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनीतिक निकाय बन्द गरेर आफ्ना नागरिक तथा कर्मचारीको उद्धार गरेका थिए । अफगानिस्तानमा रहेका विदेशी नागरिक तथा अफगानी नागरिकलाई राहत तथा उद्धारमा विश्वले कतार एयरवेजको सहायता प्राप्त गरेको थियो ।
कतार एयरवेजले गत वर्ष १८ अगष्ट २०२१ देखि ६ फेब्रुअरी २०२२ सम्म ७५ हजारभन्दा बढीको विभिन्न उडान मार्फत उद्धार गरेको छ । ती मध्ये धेरैजसो त अफगानी विद्यार्थी, शिक्षक, अधिकारकर्मी, वकिल, कलाकार, संगीतज्ञ तथा अन्य छन् । विदेशी नागरिकमध्ये नेपाली नागरिकको समेत कतार सरकारले उद्धार गरी कतारमै आश्रय प्रदान गरी नेपाल पठाएको थियो ।
अफगानिस्तानबाट बाहिर जान चाहनेहरूको उद्धार मात्र गरेन, उनीहरूको लागि बस्ने खाने व्यवस्था समेत गरेको र उपचारको आवश्यकता हुनेहरूलाई निःशुल्क उपचारको व्यवस्था कतार सरकारले जनाएको छ ।
स्वास्थ्यका कारणले विशेष आवश्यकता हेरचाह गर्नुपर्नेहरूका लागि ह्वीलचेयर र विशेष वासस्थानको व्यवस्था कतार सरकारले गरिरहेको छ ।
उद्धारकै क्रममा परिवारविहीन २०८ बालबालिका कतार पुगेका थिए, जसलाई कतार फाउन्डेसनले युनिसेफसँगको सहकार्यमा आश्रय तथा शिक्षा तथा स्वास्थ्यका सबै जिम्मेवारी पूरा गरिरहेको छ । विभिन्न क्षेत्रमा शिक्षा लिन चाहने अफगानी विद्यार्थीहरूलाई कलेज तथा विद्यालयमा पढाइरहेको छ ।
तालिबानी आक्रमणपछि अफगानिस्तानमा संयुक्त राज्य अमेरिकालगायत पश्चिमा राज्यहरू प्रवेश गर्न सक्ने अवस्था रहेन, जसले गर्दा कतारी सहयोगमा ती देशहरूले आफ्ना नागरिकको सुरक्षा गरेको थियो । त्यसबेला अमेरिका र कतारबीच एउटा सहमतिमा हस्ताक्षर नै भयो, जसले कतारलाई अफगानिस्तानको संरक्षक शक्तिको रूपमा खडा गरेको थियो ।
तालिबानी आक्रमणका कारण क्षतविक्षत भएको काबुलस्थित हामिद कार्जाइ विमानस्थल कतार सरकारले ९ दिनमा मै मर्मत गरी पुनः सञ्चालनमा ल्याएको थियो । कतार सरकारले तालवानीसँग सम्बन्ध सुधार गरी अहिले पनि हामिद कार्जाइ विमानस्थलमा अन्य देशका विमान अवतरण गर्न सहकार्य गर्ने गरेको जनाएको छ ।
नेपाल सरकारले केही समय अगाडि कतार सरकारकै सहयोगमा अफगानिस्तानमा राहत पुर्याउन सफल भएको थियो ।
कोभिड-१९ महामारीकै बीचमा अफगानिस्तानमा भीषण संघर्ष भएका कारणले मानवीय सहायताको महसुश गरी कतार सरकारले डब्ल्यूएचओसँग सहकार्य गरी कतार एयरवेजमार्फत् राहत सामग्री पुर्याएको थियो ।