हिपमत डटकम

बिहिबार, भाद्र ३१, २०७८ || 459  पटक पढिएको

नेपाली युरोपियन खेलकुद संघ (एनआइएससी) को आयोजनामा आगामी नोभेम्बर ७ तारिखमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

युरोपमा रहेका नेपालीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गराउने उद्देश्यका साथ एनआइएससीको आयोजनामा अष्ट्रियाको जोसेफ प्रेरिस अली ३, ५०२० साल्बु्रङमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न टिमको सहभागिता रहनेछ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमलाई १ हजार युरो र द्वितीय हुने टिमलाई ३ सय युरो पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने एनआइएससीका अध्यक्ष दिलकुमार घमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लगातार ३ वर्ष विजयी हुने टिमलाई नगद २ हजार युरोसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिता हुने टिम दर्ता अक्टुबर २५ तारिखभित्र गरिसक्नुपर्ने अध्यक्ष घमालले बताउनुभयो । घमालका अनुसार तोकिएको समयभित्र उपस्थिति नहुने टिमले प्रतियोगितामा सहभागिता हुन पाउने छैन ।

 

“खेलकुदका माध्यमबाट युरोपमा रहेका नेपालीहरूबीच चिनजान हुनुका साथै विदेशमा रहेर पनि नेपालीहरूले मुलुकको कला र संस्कृतिको विकासमा योगदान दिइरहेका छन् भन्ने प्रस्ट हुन्छ,” अध्यक्ष घमालले भन्नुभयो, “प्रतियोगितामा सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुनेछ । जहाँ बसेर जे गरे पनि जन्मभूमि र कर्मभूमिकै लागि गरिरहेका हुन्छौं ।” खेलकुदलाई आत्मसात गरेमा मान्छेले महँगो हिरा, मोती, सुन, चाँदी लगाउनै नपर्ने घमालको भनाइ छ ।

खेलकुदलाई पनि गहनाका रुपमा आत्मसात गरेमा जीवन सार्थक हुने उहाँको विचार छ । “खेलकुदले मानिसको शारीरलाई स्वस्थ राख्न मद्दत गर्छ,” अध्यक्ष घमाल भन्नुहुन्छ, “यदि मानिसको शरीर नै स्वस्थ छैन भने अर्बौं धनसम्पत्ति भएर पनि के गर्नु ? अर्कातर्फ खेलकुदले आपसी सम्बन्ध बढाउनुका साथै मनलाई शान्ति प्राप्त हुन्छ ।”


प्रतियोगिताका लागि तयारी तीव्र पारिएको छ । टिमलाई निमन्त्रण, खेल स्थानको टुंगो, पुरस्कार र ट्रफीको व्यवस्थापनलगायतका कामहरू अन्तिम चरणमा पुगेको घमालले बताउनुभयो । उहाँले कार्यक्रममा उपस्थित जनाएर आयोजक र खेलाडीलाई हौसला प्रदान गर्न युरोपमा रहेका नेपालीलाई आह्वानसमेत गर्नुभएको छ । “यसमा कुनै राजनीति हुँदैन,” उहाँले थप्नुभयो, “राजनीतिभन्दा माथि उठेर खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाइचारालाई बलियो बनाउने हाम्रो उद्देश्य हो । मलाई लाग्छ राजनीतिले मान्छेका मन र मुटुलाई टुक्याउँछ तर कला साहित्य र संगीतले जस्तै खेलकुदले पनि मान्छेका मन र मुटुलाई जोड्छ ।”

आयोजकका तर्फबाट खेलाडीको टुंगोसमेत लागिसकेको छ । प्रतियोगितामा आयोजकका तर्फबाट अध्यक्ष घमालसहित राजु विश्वकर्मा, अंग शेर्मा, प्रेम रसाइली, ख्याम विश्वकर्मा, रोहित विश्वकर्मा, गर तेम्बा शेर्मा, इल्विन हुम्यान मैदानमा उत्रिनेछन् ।

यसैबीच, एनआइएससीको रिक्त रहेको सचिवमा शिव खड्कालाई मनोनीत गरिएको छ । घमालको अध्यक्षतामा एक वर्षअघि गठन भएको एनआइएससीमा सचिव पद रिक्त रहेको थियो । केही समयअघि बसेको एनआइएससीको बैठकले खड्कालाई सचिवमा मनोनीत गरिएको घमालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!