
पोखरा । रोजगारी दिने नाममा बेरोजगार युवा-युवतीलाई ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सीका संचालकलाई पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्ने अभियुक्त पोखरा महानगरपालिका वडा नम्बर २७ ताल्चोकमा स्थापित पिजी रियल स्टेट एण्ड जब लिंक प्रालिका संचालक कृष्णप्रसाद पौडेल रहेका छन्।

उनले रोजगारी दिने प्रलोभन देखाएर प्रति व्यक्ति दुई हजार पांच सय रुपियाँका दरले चार हजार पांच सय जनासँग रकम ठगी गरेको आरोप लगाइएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय हंसपुरको मुकाम डांडानाक लेखनाथको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुबाश हमालले जानकारी दिए।
पौडेलले बेरोजगार युवा-युवतीलाई रोजगारी दिने प्रलोभन देखाएर प्रति व्यक्ति दुईहजार पाँच सय रुपियाँका दरले ठगी गरेको मौखिक उजुरी आएपछि उनलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डिएसपी हमालले बताए। कारबाहीका लागी भने लिखित उजुरी नपरेको उनले स्पस्ट पारे।
प्राप्त विवरण अनुसार, कन्सल्टेन्सीका संचालक पौडेलले बेरोजगार युवा-युवतीलाई दुई महिनाभित्र रोजगारी दिलाउने भन्दै पोखराको बिरौटाचोकस्थित पाँच तारे होटल ग्राण्डमा एक दिने सेमिनार गराएर मासु भात खुवाई प्रति व्यक्ति दुईहजार पांच सयका दरले रकम असुलेका छन्। पौडेलले हरेक बेरोजगार युवासँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै भदौ २५ गते अर्थात् आजसम्म जागीर नभए सबैको बैंक खातामा तलब राखिदिने प्रतिबद्धता जनाएका छन्।
हातमा कम्पनीको प्रतिबद्धतापत्र बोकेका युवायुवतीहरु आजदेखि जागीर शुरु गर्ने बिस्वासका साथ लेखनाथको ताल्चोकस्थित कम्पनीमा पुगेका थिए। त्यहाँ पुगेपछि भने उनीहरुको होश हवास नै उड्यो, घर नजिकै जागीर पाएपछि विदेश जाने भिसा समेत रद्द गरेका युवायुवातीदेखी रुकुम-रोल्पादेखि पोखरामा जागीर खान आएका उनीहरुलाई कन्सल्टेन्सी संचालक पौडेलले “कसैलाई रोजगारी दिन नसकिने” बताएपछि उनीहरु निराश बने।
उनीहरुले तत्काल कारबाहीको माग राख्दै कन्सल्टेन्सीको कार्यालय घेराउ गरेर नाराबाजी गरे। त्यसपछि घटनास्थलमा पुगेको डांडाको नाक प्रहरी चौकीका प्रहरीले संचालक पौडेललाई पक्राउ गरेर हिरासतमा राखेको छ। संचालक पौडेललाई प्रहरीले पक्राउ गरेपछि पिडित युवा-युवतीले दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग राखेर डाँडाको नाक प्रहरी चौकीसमेत घेराउ गरेका थिए।
पिडित पक्षले आफु ठगिएको भन्दै लिखित जाहेरी दिएमा दोषीलाई कानून बमोजिम कारबाही चलाइने कास्की प्रहरीका प्रबक्ता डिएसपी हमालले बताए।
भिडियो :