
भदौ १८ गतेदेखि कांग्रेस आन्तरिक रूपमा चुनावको समरमा होमिदै छ । केन्द्रीय १४ औ महाधिवेशनका लागि वडा तहबाट भदौ १८ गतेदेखि अधिवेशन सुरू हुँदैछ । कांग्रेस कार्यकर्तामा उत्साह छ ।

नयाँ क्रियाशील सदस्यता पाएकाहरू दंग छन् । कांग्रेसको महाधिवेशनलाई सफल बनाउने सबैको एकमात्र मिशन हो । कांग्रेसमा यसपटक नेपालभरबाट राम्रै संख्यामा क्रियाशील सदस्य बनेका छन् भने भइसकेका कांग्रेसीहरूको क्रियाशील सदस्यताको नवीकरण भएको छ ।
आन्तरिक चुनावी समरमा धेरै कांग्रेसका कार्यकर्ता भाग्य अजमाउने कसरतमा छन् । कांग्रेसभित्रको चुनावमा जो जिते पनि जो हारेपनि जित कांग्रेसकै हुने हो । विराटनगर नगरक्षेत्र भित्र पनि चुनावी चहलपहल बाक्लै देखिएको छ । चोक–चोकमा कांग्रेस कार्यकर्ताहरू गन्थनमन्थनमा देखिन्छन् ।
समूह र उपसमूह, गुट र उपगुटका बारेमा चियोचर्चाको कुरा हुने गरेको छ । प्रतिद्वन्द्वीहरूको कमजोरी केलाउदै आफ्नो पकड बलियो बनाउने कसरतमा लागेका छन् । यो हुनपनि जरूरी छ । स्पर्धा सबैतिर स्वस्थ्य हुनुपर्ने मान्यता त सर्वव्यापी छ । सबै पार्टीले युवालाई अत्यधिक महत्व दिएका हुन्छन् ।
देशका युवाहरू धेरै भन्दा धेरै संख्यामा समाहित होस् भन्ने चाहना प्रत्येक पार्टीको हुने गरेको छ । युवाको क्रियाकलाप आक्रामक हुने गरेको छ र त्यही आक्रमकतालाई सबै पार्टीहरूले भजाउने गरेका छन् । राजनीति अफिमको नसा झैं हो भन्दा अतियोक्क्ति नहोला । राजनीतिको मदमस्तमा युवाले घरद्वार, परिवार, पेशा र घरको भातसमेत बिर्सिएको हुन्छ । युवामा केवल राजनीतिको भूत सवार भएको हुन्छ । युवाले अमूल्य समय नेताहरूको पछाडि लाग्न र दौडिन खर्चेको हुन्छ । घरको भात छाडेर पार्टी संगठन भन्दै चना च्युराको भरमा नेताको पछाडि लागेको हुन्छ ।
केही बाठाले त बाक्लै तरपनि चाट्ने मौका पाउँछन् तर अधिकांश त्यस्ता भाग्यमानी हुँदैनन् । पार्टी भित्र युवालाई पनि गुट उपगुटमा आवद्ध पारिन्छ । पार्टीभित्रकै फलानो नेतासँग उठबस नगर्नु भनेर स्कुलिङ्ग गरिन्छ । युवाको उपदेयता सिद्धिएको दिन ऊ आकाशबाट पातालमा खस्छ । तबसम्म भविष्य अँध्यारो भइसकेको हुन्छ । वडा नं. ३ का एक कांग्रेस कार्यकर्ता भन्छन्, ‘पार्टी वा नेताले युवाबाट फाइदा मात्र लिने होइन, उसको भविष्यप्रतिपनि चिन्तित् बनिदिनु पर्छ । मलाई ती कार्यकर्ताको सोच मन प¥यो ।
जनकल्याणको लागि नै पार्टी स्थापना गर्ने हो । जनको कल्याण छाडेर आफ्नै मात्र स्वार्थ हेर्ने हो भने त्यस्तो पार्टीको कुनै आवश्यकता नै हुँदैन । भदौ १८ गते कांग्रेसको वडास्तरीय अधिवेशन भनेपनि अन्यौल सकिएको छैन । आफूलाई वडादेखि क्षेत्रिय प्रतिनिधिको उमेदवार बताउनेहरूपनि अधिवेशन हुने न हुनेमा सशंकित बनेका छन् । मोरङको कुरा गर्ने हो भने केन्द्रबाट क्रियाशील सदस्यको आधिकारिक नामावली आइपुगेको छैन । निर्वाचन अधिकृत तोकिएको छैन । कहिले नामावली आइपुग्ने हो र कहिले निर्वाचन अधिकृत तोकिने हो भन्ने कुराको पनि कुनै ठेगान छैन ।
अलमलको बीच नै उमेदवार बन्न इच्छुकहरू प्रत्यक्ष भेटेर, बात मारेर, फोनबाट चिने नचिनेका क्रियाशील सदस्यहरूमाझ पहुँच बढाइरहेका छन् । नयाँ क्रियाशील सदस्यहरूलाई कतिपय उम्मेवारले चिनेका त के तिनीहरूको नामै सुनेका छैनन् । भदौ १८ मा नै अधिवेशन हुने हो भने उम्मेदवारहरूले आपूmलाई चिनाउन र आफ्नो पक्षमा भोट हाल्न लगाउन सकस छ । यो अधिवेशन सौहादर्यको हुनु जरूरी छ ।
यसले कांग्रेस एक ढिक्का छ भन्ने सन्देश दिन नितान्त जरूरी छ । पार्टीभित्रको अधिवेशनमा भएको उठापटकको तुष कहिँ स्थानीय र अन्य निर्वाचनमा त देखिने होइन भन्ने पनि शंका एकातर्फ छ । अधिवेशनका गतिविधिलाई अधिवेशनमा सीमित राख्नुपर्छ र अधिवेशनबाट आएका राम्रा र सकारात्मक कुरालाई अगाडि लिएर जानु पर्छ भन्ने कुरालाई इन्कार गर्न सकिँदैन ।
यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।