एमालेको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

३२५ सदस्यीय जिल्ला कमिटी गठन, पदाधिकारीहरुको कार्यविभाजन, प्रचार प्रवक्तामा आलम

हिपमत डटकम

शनिबार, भाद्र १२, २०७८ || 938  पटक पढिएको

विराटनगर। नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो ।

नेकपा एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो । अहिले एकीकृत समाजवादीले वडातहसम्म गठन भएका समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्दै सांगठनिक गतिविधि तिब्र बनाएको छ ।

शनिबार सुन्दरहरैंचामा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफाँड गरेको छ । कमिटीका अधिकांश सदस्य उपस्थित भएको पूर्ण बैठकले दुई उपाध्यक्ष, सचिव, दुई सहसचिव र आर्थिक विभागका प्रमुखसमेतको जिम्मेवारी टुंगो गरेको हो ।

एकीकृत समाजवादी मोरङले डा.उद्धव पोखरेललाई मोर्चा विभाग प्रमुख, राजन केसीलाई संगठन विभाग प्रमुख, चण्डी राईलाई स्कुल विभाग प्रमुख, निलम ढुंगेललाई श्रम तथा रोजगार विभाग प्रमुख र वसिम आलमलाई प्रचार प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

पार्टीको बैठकमा आफू निकट रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडासदस्यरही जिल्ला कमिटीको जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
बैठकले १७ वटै स्थानीय तह र सबै वडाहरुमा पार्टीको भेला आयोजना गरी कमिटीहरुलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको बताइएको छ ।

शुक्रबार मात्र नेकपा एकीकृत समाजवादीले विराटनगर महानगर कमिटीको भेला आयोजना गरेर समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको थियो । साथै महानगर कमिटीका पदाधिकारीहरुलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । महानगर कमिटीले सबै वडाहरुमा भेला आयोजना गरी कमिटी निर्माणको कामलाई तीब्रता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!