
देहमा धोती, कुर्ता, गमछा
शीरैमा पाग-पगड़ी लाउँ
पराती, सोहर, जटाजटिन
झिझिया कि फगुवाँ गाउँ
मनैको सगरमाथामा सदा
रातो चन्द्र र सुर्य फरफराउँ
ए हजुर जहाँ नि म जाउँ
म मिथिलाको नेपाली हुँ,
मिथिलाकै नेपाली कहलाउँ !

स्वर मिठो जसरी कोइलीको
स्वाद रसिलो मेरो मैथिलीको
जन्मदेखि मरण सम्मको यो,
सार्थी बनेछ जीवन-शैलीको
नेपाली भाषा सङ्ग सङ्गै,
मैथिली नि लेख्न-पढ्न पाउँ !
सघंर्ष र श्रद्धामा बाँच्छु खाली
माटो नै हो मेरो जीवन-लाली
पसिनाले उब्जाएर अन्नबाली
फैलाउँ पूरै मेचीदेखि काली
मेरो देश बाँचे पुग्छ मलाई,
बरू म यहाँ नुनै-रोटी खाउँ !
बुद्ध, जनक, सीता, विद्यापति
सलहेस, दिनाभद्रीको म सन्तति
छाती क्षतविक्षत, रेटियोस् मति
मेट्न दिन्न पहिचान र सँस्कृति
मुस्कुराउँदै म माटोको मायामा,
रगत थोपा थोपा गरी बगाउँ !
■ विद्यानन्द वेदर्दी
● ठेगाना : अग्नीशाईर कृष्णासवरण गाउँपालिका – ४, सप्तरी