
यतिबेला कांग्रेस क्रियाशिलको मोल बढेको छ । उनीहरू उम्मेदवारको नमस्ते खाइरहेका छन् ।

जयनेपालको न्यानो अभिवादन पाइरहेका छन् । अन्तर पार्टी निर्वाचनका क्रममा धेरै लामो ग्यापहरू तोडिएका छन् ।
क्रियाशिलको मूल्य १८ गतेसम्म रहने छाँट देखिएको छ ।
त्यसपछि क्रियाशिलबाट क्षेत्रीय प्रतिनिधि भएका, बुथ सभापतिको मोल बढ्ने छ । त्यसको केही समयपछि जिल्ला, महाधिवेशन प्रतिनिधिको मोल बढ्ने छ क्रमिक रूपमा ।
कहिल्यै जयनेपाल नभन्ने, नमस्तेसम्म नगर्ने, अपरिचित अनुहारलाई समेत क्रियाशिल भएकै आधारमा भेटघाट जुराएको छ ।
अहिले जुन एकता, मित्रता, आपसी प्रगाढ सम्वन्धको अवस्था देखिएको छ त्यस्तै अवस्था कांग्रेस भित्र रहने हो भने पक्कै पनि यो पार्टीले कुनै निर्वाचनमा पराजयको सामना गर्नुपर्ने छैन । तर, यो सम्भव छैन भन्ने लाग्छ ।
निर्वाचन सकिएपछि जयनेपाल र नमस्तेसमेत नफर्काउने संस्कार कांग्रेसमा जत्ति त अरू कुनै पार्टीमा होला । कतिपय नेताहरू जयनेपाल नफर्काएकै कारण सकिएका छन् । फलानो नेताले त जयनेपाल गर्दा त फनक्क अर्कोतिर फर्कन्छ भने उसलाई भोट किन दिने भन्ने एकप्रकारको असन्तुष्टि कार्यकर्तामा छ ।
खैर, कांग्रेस पार्टीमा एकले अर्कालाई भेट्ने, मित्रताको हात अघि बढाउने र सत्रुता त्याग्ने जुन संस्कार सुरु भएको छ पक्कै पनि यो सकारात्मक मान्नुपर्छ । आखिर चुनावकै बेला न हो नेपालमा राजनीतिक संस्कार देखिने !