मंगलबार, भाद्र ०१, २०७८ || 745  पटक पढिएको

नागेश कोइरालालाई कतिले उनीहरूकै शब्दमा ‘अपरिपक्व’ भन्छन् । कतिले उनलाई स्पष्ट बोल्ने, कुरा नलुकाउने र कसैको चाकडी नगर्ने भनेर पनि तारिफ गर्छन् । कोइरालाका एक बालशखाले भनेको कुरा यहाँ मनन योग्य छ–नागेश सानैदेखि चुलबुले थियो तर, उसले परेको बेलामा अरुलाई सहयोग गर्न कहिल्यै पछि हटेन । उसलाई जे लाग्छ त्यो गर्छ, उ आफुभित्रकै राजा शैली भएको व्यक्ति हो ।

कतिपय नेताहरू प्याट्ट बोल्ने बानी हुन्छ । जे देख्छन् त्यो बोल्छन् अनि आलोचित हुन्छन् । कुटनीतिक राजनीति गर्न सक्दैनन् । तर, कांग्रेसको राजनीतिमा सारा व्यवसाय, कारोबार त्यागेर अहोरात्र खटिने व्यक्ति हुन नागेश कोइराला । मान्छे हुन समय र परिस्थितिका क्रममा उनमा पनि समस्या होलान् । तर, उनी एक पार्टी प्रति बफादार व्यक्ति हुन र, अझै बफदार हुन धेरै मेहनत र ‘सम्झौता’ गर्नुपर्ने हुन्छ ।

नागेशले आफुलाई सम्हाल्न नसक्दा धेरै ठाउँमा क्षति बेहोर्नु पर्छ । बेहोरेका पनि होलान । उनले सुधार गर्ने धेरै ठाउँ छन् र, आलोकाँचो राजनीति उनलाई अब सुहाउन्न । भद्र र सौम्य राजनीतिक यात्रामा उनी अघि बढ्नु पर्छ । उक्साहटमा लागेर कसैविरुद्ध उनले कुनै गतिविधि गर्ने होइन आफु कसोरी बलियो हुने भन्ने कुरा सोच्नुपर्छ । उनी एक जिम्मेवार पार्टीको जिम्मेवार व्यक्ति हुन ।

पंक्तिकारले यसअघि पनि यो कुरा उठाएको थियो । सभापति डिगबहादुर लिम्बू प्रतिनिधिसभाका उम्मेदवार भए । उपसभापति शिवनारायण सिंह गनगाईं प्रदेश सभाका माननीय भए । सचिव मोदराज घिमिरे रंगेलीको मेयरमा उम्मेदवार बने र झिनो मतान्तरले पराजित भए । सहसचिव शिवप्रसाद ढकाल सुन्दरहरैंचाका मेयर बने । विराटनगर सभापति भीम पराजुली महानगरका मेयर बने । जिल्ला सदस्य सूयर्माराज राई प्रदेश सभाका सांसद निर्वाचित भए ।

सदस्य राजेशकुमार गुप्ताले प्रदेश सभाको सांसदमा टिकट पाए । सदस्य कोही मेयर भए, कोही गाउँपालिकाका अध्यक्ष बने । उनीभन्दा कम खट्नेले पनि महत्वपूर्ण अवसर पाए । प्रायः सबैले भूमिका पाए । अवसर दिइयो । तर, कोइरालाले पाएनन् । किन पाएनन् ? यसबबारे आजसम्म कसैले नागेशका हकमा न्याय भएन भनेर कुरा उठान गरेको छैन ।

उनमा कुनै खुबी नभएर हो ? त्यो पनि होइन । उनी कतै बरालिए कि ? दिएको अवसरलाई सामान्य ठानेर अस्वीकार गरे कि ? त्यो उनैले जानून । तर, बाहिर हेर्दा उनले कुनै भूमिका पाएनन् । सत्य के हो भने उनी नेका मोरङको शक्तिशाली सचिव हुन जो निर्वाचित भएर त्यो ठाउँमा पुगेका हुन । उनलाई कसैले टिका लगाएर सचिव भएका होइनन् । कोषाध्यक्षका रुपमा काम गरेर सचिवमा बढुवा भएको कुरालाई विर्सनु हुन्न ।
सचिवका रूपमा हिजो बाबुराजा ओझाले राजिनामा दिएर माओवादी प्रवेश गर्दै निर्वाचनमा टिकट पाएपछि देश नै हल्लिएको थियो । मोरङ कांग्रेसको सचिव शक्तिशाली हो । तर, किन कोइरालाले कुनै भूमिका पाएनन् ? किन पार्टीको आउँदो भूमिकामा उनको स्थान सुरक्षित गरिन्न ?
हो, हिजो उनी शेरबहादुर देउवा निकटका थिए । त्यहाँ उनले सम्मान पाएनन् । अवसर दिइएन । लाइन परिवर्तन गरेका छन् अहिले । अहिले पनि उनलाई कित्तामा पु¥याउन किन खोपीबाट कसैलाई झिकेर माइनस गर्न खोजिएको हो ?

कोइराला धन पनि भएका, मन पनि भएका भनेर कतिपयको बुझाई छ । कतै उनी कसैका लागि प्रयोग त भइरहेका छैनन् ? मनले जे भन्यो त्यो प्वाक्क बोल्ने बानीले उनलाई राजनीतिमा पछि पारेको त होइन ? यसबारे सुक्ष्म अध्ययन र अनुसन्धान उनी आफैले गर्ने हो । जहिल्यै प्रयोग हुने हो भने किन राजनीति गर्नु ? पार्टीले सबैलाई न्याय गर्नुपर्छ । अनि पो पार्टी भनेर अहोरात्र खट्ने कार्यकर्ता हुन्छन् ।

पार्टीको आउँदो अधिवेशनमा कसलाई के भूमिका दिने हो ? नागेश कोइरालालाई त्यसबाट अलग किन गर्नु हुन्न ? किनभने उनी पार्टीका एक असल सिपाही त हुन । हो, उनमा समस्या छ भने सुधार गर्ने जिम्मेवारी उनैले महसुस गरून ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!