जुनिचाँदे गाउँपालिका–१ औलमा जिप दर्घटना हुँदा मृत्यु भएका छ जनाको शव निकाल्न स्थानीयले प्रहरीलाई रोकेका छन् ।
बुधवार बेलुकी जुनिचाँदे गाउँपालिकाको कार्यपालिका बैठकका लागि सदरमुकाम खलङ्गाबाट पराले जाँदै गरेको जिप दुर्घटना भए पछि छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिएका हुन् ।
दुर्घटना भएको जिप चालक गोरखबहादुर बस्नेत फरार रहेको तथा चालकको सुवानाउलीमा रहेको घुम्ती पसलमा पीडितले आगजानी गरेको डिएस्पी किशोर श्रेष्ठले बताएका छन् । सदरमुकामबाट गए राति नै सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको थप टोली आएको भए पनि प्रहरीलाई स्थानीयवासीले शव निकाल्न नदिएको प्रहरीले जनाएको छ । पीडितले घटनास्थलमा प्रहरीलाई समेत जान नदिएको र जनप्रतिनिधिमाथि आक्रमणको प्रयास भएको गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले बताएका छन् ।
पटक–पटक सडकको गुणस्तरको कुरा हामी लगायत यहाँका सर्वसाधारणले गर्दागर्दै दुई पटक दुर्घटना भएको छ । जनप्रतिनिधि भन्दा ठेकेदार बलिए भएको यो देश हो । सडक बनाउँदा हामीसँग कुनै समन्वय नै गरिएन । कावाध्यक्ष आचार्यले आरोप लागएका छन् । मापदण्ड विपरीत बनाएको सडकले गाडी दुर्घटना परेको भन्दै शव निकाल्न नदिएको प्रहरीले जनाएको छ । जुनिचाँदे–१ लोड्नेदेखि लुहादहसम्म निर्माण भएको सडकमा ठेकेदारले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए । ठेकेदार लापर्वाहीका कारण मापदण्डविपरीत निर्माण भएको उक्त सडकमा केही महिनाअघि मात्र सोही ठाउँमा जिप दुर्घटना हुँदा मानवीय क्षति भएको थियो ।