
हास्य कलाकार कुमार कट्टेल (जिग्री)ले युएईमा अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै सो जानकारी दिएका छन् । उनले आइतबार परेको आफ्नो जन्मदिन खुसीकासाथ मनाउनुको साटो दुःखमा रहेकी नेपाली चेलीको सहयोग गर्ने बताएका हुन् । दलाले ललाईफकाई भारतको बाटो हँुदै युएईमा पुर्याएर अलपत्र पारेको झापा घर भएकी एक चेलीको उद्धार गर्ने उनले बताएका हुन् ।
‘आज मेरो जन्मदिन । बाचुन्जेल हासी खुसी रमाउन सकु । रमाउनकै लागि अनेक बहाना बनाउन सकु’ भन्दै उनले पोष्ट गरेको स्टाटसमा अगाडि लेखिएको छ- ‘संसार कोरोनाको कहरबाट गुज्रिरहेको बेला, सम्पुर्ण मानव जगतै अत्यन्त कष्टकर समयमा रहेको बेला नेपालबाट बिभिन्न देशमा जानुभएका नेपालीहरु लकडाउनका कारण दुःख, अभाव र पीडामा हुनुहुन्छ । कतिपय नेपाली घर फर्किन समेत नसक्ने अवस्थामा हुनुहुन्छ । यहि पिडालाई महशुस गर्दै युएईमा अलपत्र परेकी एक नेपाली चेलीको प्लेन टिकटको खर्च ब्यहोर्ने निर्णय गरेको छु ।’

उनले अहिलेको विशम परिस्थितिमा दुःख र अभावमा रहेका नेपालीहरुको पीडामा आफुले सक्दो सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन् । हाँस्य श्रृंखला ‘मेरी बास्सै’ मा जिग्री पात्रको रुपमा देखिएपछि लोकप्रियता हासिल गरेका कुमार पछिल्लो समय ‘भद्रगोल’ हुँदै ‘सक्कीगोनी’ मा समेत यहि भूमिकामा देखिँदै आएका छन् ।