मंगलबार, बैशाख ०२, २०७७ || 831  पटक पढिएको

कोभिड–१९ का कारण नेपाल लकडाउन भएको तीन हप्ता पुग्न लागेको समयमा प्रदेश नं २ का मठमन्दिर सुनसान भएको छ । प्रदेशका जानकी मन्दिर, जलेश्वर महादेवसहितका मठमन्दिर होलीपर्वबाट नै सुनसान रहँदै आएका छन् । अहिले मठमन्दिरको पूजापाठ पुजारीबाहेक अरुको पहुँचभन्दा बाहिर छ । यस क्षेत्रमा लकडाउन शुरु भएसँगै कोरोनाबाट सुरक्षित हुन नयाँनयाँ अभ्यास शुरु गर्न थालिएको छ । अहिले रोटी बनाउन प्रयोग गर्ने काठको चकलामा काठकै बेलना ठड्याएर घरघरमा पूजा हुन थालेको छ । यसरी पूजा गर्दा कोरोना भाइरसबाट जोगिने विश्वास यस क्षेत्रका बासिन्दामा रहेको जलेश्वर महादेव मन्दिर नजिक घर भएका दिलीप चौधरीले बताउनुभयो । चकलामा बेलना राखेर चारैतिर चामल अथवा आँटाको घेरा राखेर ठाडो पारेर पूजा गर्नेहरुको सङ्ख्या दिनानुदिन बढिरहेको छ । यो पूजा एकदेखि दुईदिनसम्म रहने गर्छ । चकलामा बेलना ठड्याएर कसैले महारानी त कसैले महादेव भनेर पूजा गर्ने गरेका छन् । तीन हप्तादेखि मन्दिरमा जान नपाएपछि घरमै पूजा गर्ने र कोभिड–१९ को डरबाट केही क्षण मुक्त हुने माध्यम यो अफवाह बनेको योगसाधक नवल यादवको भनाइ छ । यस क्षेत्रका बासिन्दाले भगवान् भन्दै पूजापाठ गर्ने विषय भने नौलो रहेको यादवले जिकिर गर्नुभयो । यस विषयमा मटिहानी मठका उत्तराधिकारी महन्थ रवीन्द्रदास वैष्णवसँग बुझ्न खोज्दा उहाँले कुनै प्रतिक्रिया दिनुभएन । स्थानीयवासीका अनुसार यो पूजापाठको कुरा लहान हुँदै जलेश्वर आइपुगेको हो । महोत्तरी जिल्लाकै अन्य ठाउँमा यस्तो किसिमको चमत्कार वा पूजापाठको कुनै चर्चा नरहेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो । केही दिन अगाडि यस क्षेत्रका मानिसले कपुर, ल्वाङ, अलैँची, हिङसहितको सामग्रीको पोको बनाई घाँटीमा अथवा हातमा बाँधेका थिए । लकडाउनको बेला कोरोना भाइरसबाट जोगिने अफवाहका कारण नयाँनयाँ अभ्यास भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!