हिपमत डटकम

शनिबार, फाल्गुण ०९, २०८२ || 1606  पटक पढिएको

म्याग्दी । म्याग्दीका राजनीतिक दल र उम्मेदवारहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुराना चुनावी शैली परिवर्तन गरेका छन् । विगतका निर्वाचनमा भित्तामा टाँसिने ठूलाठूला पोस्टर–पम्प्लेट र ठूला चनावी सभाभन्दा यसपटक उम्मेदवारहरूले टोल–बस्तीमा पुगेर मतदातासँग छलफल, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्ने नीति लिएका छन् । यसबाहेक सामाजिक सञ्जालमार्फत ‘डिजिटल प्रचार सामग्री’ को प्रयोगलाई व्यापक प्राथमिकता दिइएको छ ।

हाल उम्मेदवारसँगै नेता र कार्यकर्ताहरूले घरदैलो र प्रत्यक्ष भेटघाटमा बढी जोड दिएका छन् । नेताहरूलाई आ—आफ्नो पालिकामा चुनाव प्रचार गर्ने जिम्मा दिइएको छ । यसरी जिम्मेवारी पाएकाहरूले मतदातासँग प्रत्यक्ष भेटघाट र सामाजिक सञ्जालमार्फत आफ्नो पार्टी तथा उम्मेदवारको प्रचार गरिरहेका छन् ।

क्यामेराम्यानसहित फेसबुक, टिकटक, युट्युबमा दैनिक भिडियो सामग्री बनाएर पोस्ट गर्ने, प्रत्यक्ष प्रसारण गर्ने शैली अपनाइएको छ । त्यतिमात्र होइन स्वतन्त्र उम्मेदवार महावीर पुनले त टोलटोलमा घुम्दै हाते माइकमार्फत जनतालाई कटुवाल कराउने शैलीमा ‘लौ है जनता हो ! महावीर आयो’ भन्दै आफ्ना कुरा सुनाइरहेका छन् ।

नेपाली कांग्रेस म्याग्दीका चुनाव प्रचारप्रसार समिति सदस्य निर्मल खत्री यसपटक सामाजिक सञ्जालमार्फत भिडियो सन्देश, प्रत्यक्ष प्रसारण र डिजिटल सामग्रीमार्फत मतदातासँग जोडिने प्रयास गरिएको बताउछन् । कांग्रेस उम्मेदवार कर्णबहादुर भण्डारीको सचिवालयले प्रत्यक्ष भेटघाट र डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिएको उनले बताए ।

नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले पनि यस्तै शैली अपनाउँदै मतदाताको घरदैलोमा पुगिरहेका छन् । एमाले नेता प्रकाश पौडेलका अनुसार एमालेले विगतमा गरेका विकास कार्य र उम्मेदवारका प्रतिबद्धताहरू मतदातासम्म पुर्याउन भिडियो, गीत, टिकटक र पोडकास्टमार्फत प्रचार गरिरहेको छ ।

यस्तैगरी स्वतन्त्र उम्मेदवार महावीर पुनको सचिवालय पनि पोष्टकार्ड, रिल र भिडियो सामग्रीमार्फत डिजिटल प्रचारमा सक्रिय छ । पुनका सहयोगी चित्र तिलिजाले निर्वाचन प्रचारप्रसारका लागि मतदातासँग प्रत्यक्ष भेटघाट र डिजिटल प्रविधिको भरपुर प्रयोग गरिएको बताए ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाको सचिवालयले पनि डिजिटल प्रचारलाई प्राथमिकता दिएको छ । भेटघाट, प्रत्यक्ष संवाद र मतदाताका प्रतिक्रियालाई फेसबुकमा लाइभ गर्दै प्रचार प्रसारलाई तीव्रता दिइएको नेकपाका नेता गोविन्द पौडेलले जानकारी दिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर सुवेदी, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, नेकपा (माओवादी) का क्षेत्रबहादुर घिमिरेलगायत उम्मेदवारले पनि सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् । यहाँ एक स्वतन्त्र र ११ राजनीतिक पार्टीका गरी १२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा छन् ।

यहाँका सबैजसो उम्मेदवारले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर कालोपत्र गर्ने, अन्य सडक निर्माण, खानेपानी, शिक्षा, कृषि क्षेत्रको प्रवर्द्धन, सुलभ स्वास्थ्य सेवा, रोजगारीलगायतका मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

नयाँ उम्मेदवारको उपस्थिति, दलीय राजनीतिको बिचमा स्वतन्त्र उम्मेदवारको उपस्थिति र बदलिँदो प्रचार शैलीले यसपटक निर्वाचनलाई अझ रोचक बनाएको स्थानीय बुद्धिजीवी राजु केसीले बताउनुभयो ।

निर्वाचनको मिति नजिकिँदै जाँदा डिजिटल प्रविधिको प्रयोग गरी प्रचार कार्य बढेसँगै साइबर सुरक्षा चुनौती पनि बढ्दै गएको छ । उम्मेदवारको सामग्रीमा अर्का समर्थकहरूले गाली–गलौज र नकारात्मक टिप्पणी गर्दा द्वन्द्व बढेको देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडाइका साथ निगरानी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक निर्वाचन क्षेत्र, छ पालिका र ४५ वटा वडा रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!