
रुपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताले उम्मेदवारहरूसँग विकासको स्पष्ट खाका माग गरेका छन्। वर्षौँदेखि सडकको दुरावस्था, बेरोजगारी र कृषि क्षेत्रमा देखिएको समस्या झेल्दै आएका यहाँका स्थानीय यसपटक आश्वासन मात्र दिने नभई काम गरेर देखाउने प्रतिनिधि चुन्ने मुडमा छन्।

मर्चवारी–३ सिसो सेमराका ओमप्रकाश कान्दुको गुनासो यहाँका सबै मतदाताको साझा पीडा हो। भैरहवादेखि मर्चवार आउने बाटोको हविगत निकै खराब रहेको बताउँदै उनी सडक राम्रो नहुँदा एम्बुलेन्स र दमकल समेत समयमा ल्याउन नसकिएको बताउँछन्।
सडकसँगै बेरोजगारी यस क्षेत्रको अर्को घाउ बनेको छ। स्थानीय युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी दिने गरी उद्योग स्थापना गर्ने र खेतीपातीको समयमा भारतमा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै समयमै मल र सिँचाइको व्यवस्था गर्ने नेताको खोजीमा यहाँका जनता छन्।
विगतका निर्वाचनमा जितेर गएकाहरूले फर्केर नहेरेको भन्दै मतदातामा एक प्रकारको आक्रोश पनि देखिन्छ। रायपुरका साधुसरण यादव र परसहवाका मख्खन लोधका अनुसार यस क्षेत्रमा स्तरीय अस्पताल र विद्यालयको भौतिक पूर्वाधारको समेत ठूलो अभाव छ।
सडकका खाल्डाखुल्डीले सवारी दुर्घटना निम्त्याइरहेको र स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने स्थानीयको माग छ। मायादेवी र सम्मरीमाई गाउँपालिकाका मतदाताले पनि शिक्षा, स्वास्थ्य र कृषिलाई नै प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
यसपटक रुपन्देही–४ मा २२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। जसमा १५ जना विभिन्न राजनीतिक दलका र ७ जना स्वतन्त्र उम्मेदवार छन्। १ लाख १६ हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा पूर्वमन्त्रीदेखि पूर्वसांसदहरूसम्मको प्रतिस्पर्धा छ। विगतमा पटक–पटक नेतृत्व फेरिए पनि आधारभूत समस्या समाधान नभएकाले यसपटक मतदाताले ‘उम्मेदवार चिनेर’ मात्र मतदान गर्ने बताएका छन्।