
विराटनगर। मोरङ क्षेत्र नम्बर ६ का नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले मोरङ क्षेत्र नम्बर-६ क्षेत्रको विकासका लागि ३० बुँदे योजना अघि सारेका छन्।

उनको प्रतिबद्धता पत्रमा विराटनगरको ठूला समस्यामध्ये ढल निकास र डुबान नियन्त्रणलाई पहिलो प्राथमिकता दिएका छन्। गुरुयोजना बनाएर यो समस्या समाधान गर्ने कुरा उनले स्पष्ट गरेका छन्। त्यस्तै, वर्षौंदेखि अल्झिएको अव्यवस्थित बसोबासी र सुकुम्वासीको समस्या कानुनी रूपमा समाधान गर्ने उनको दाबी छ।
शिक्षामा आमूल सुधार ल्याउन, ढकालले सरकारी विद्यालयहरूमा ‘स्मार्ट क्लासरुम’ सुरु गर्ने र उच्च शिक्षाका विद्यार्थीका लागि ‘पढ्दै, कमाउँदै’ कार्यक्रम ल्याउने घोषणा गरेका छन्। मदरसा, गुरुकुलजस्ता धार्मिक शिक्षालयहरूलाई आधुनिक शिक्षासँग जोड्ने र युवा उद्यमीलाई विना धितो ऋण उपलब्ध गराउने विषयमा पनि उनले विशेष जोड दिएका छन्।
चक्रपथलगायत मुख्य सडक स्तरोन्नति, गछिया र सिंगिया नदी नियन्त्रणका लागि तटबन्ध, पर्यटकका लागि हसिना सिमसारको प्रवर्द्धन—यी सबै योजना पत्रमा छ। कोशी नहर कोरिडोरलाई हरियाली बनाउने र खुला व्यायामशाला बनाउने जस्ता वातावरणीय काम पनि समेटिएका छन्।
ढकालले पूर्व सांसद लालबाबु पण्डितको पालामा सुरू गरेर अधुरो रहेका विकास योजनाहरू पूरा गर्ने वाचा गरेका छन्। उनले खुलेर भने, “म ४० वर्षदेखि यही माटोमा छु, यहाँका समस्या र आवश्यकता नजिकबाट बुझेको छु। विपन्न परिवारका लागि निःशुल्क विद्युतीय चुल्हो वितरण, सिटी रिक्सा चालकलाई चार्जिङ सुविधा, जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउने जस्ता प्रस्तावले स्थानीय मतदाताहरूमा सकारात्मक चर्चा पाएको छ।