
मोरङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नं. २ का नेपाली काङ्ग्रेसका प्रत्यक्ष उम्मेदवार डा. मिनेन्द्र रिजालले सबै पुस्ताले अपनत्व महसुस गर्न सक्ने समावेशी र उत्तरदायी सरकार निर्माणका लागि काङ्ग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् ।

आइतबार पथरी शनिश्चरे–६ स्थित भातेगौंडामा प्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै डा. रिजालले युवादेखि ज्येष्ठ नागरिकसम्मको भावना समेट्ने, लोकतान्त्रिक मूल्य र संस्थागत स्थिरतालाई मजबुत बनाउने नेतृत्व आवश्यक रहेको बताए । उनले बदलिँदो पुस्ताको चाहना, रोजगारी, शिक्षा, सुशासन र विकासलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने धारणा राखे ।

डा. रिजालले कूटनीति, राष्ट्रिय सुरक्षा र सार्वजनिक नीतिका क्षेत्रमा आफूले गरेको लामो अनुभवले जनताका मुद्दालाई व्यवहारिक रूपमा सम्बोधन गर्न सहयोग पुग्ने बताए। उनले संवाद, सहकार्य र सहमतिमार्फत देशलाई अगाडि बढाउनु नै काङ्ग्रेसको मूल विशेषता भएको उल्लेख गरे।
कार्यक्रममा समानुपातिक सूचीका उम्मेदवार गोपालमान सिंह राजभण्डारी, काङ्ग्रेस कोशी प्रदेश संगठन विभाग प्रमुख मदन संग्रौला, प्रदेश सदस्य यदु विष्ट, जिल्ला सदस्य रञ्जन थापा, पूर्व महासमिति सदस्य बद्रीकुमार निरौला, प्रदेश ‘ख’ सदस्य जयबहादुर तामाङ, महिला संघकी नेतृ मिनाकुमारी वर्मा, जेनजी प्रतिनिधि अनिस कोइराला लगायतले मन्तव्य राख्दै निर्वाचनमा काङ्ग्रेसलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वडा सचिव काजिमान थापाले सञ्चालन गरेको कार्यक्रममा वडा सभापति ज्ञानबहादुर बस्नेतको सभापतित्व रहेको थियो भने रामकुमार परियारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।