
पर्सा । पर्साको विन्दवासिनी गाउँपालिका–१ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन् तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासका लागि जुटिरहेकी छन् । उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहेकी उनी रहरले भन्दा पनि परिवारको आर्थिक अवस्थाका कारण निर्वाचन प्रहरीमा होमिनु परेको सुनाउँछिन् ।

‘‘यो उमेरमा रहरले त के हुन्थ्यो र ! परिवारको बिहान–साँझको गर्जो टार्नकै लागि भए पनि निर्वाचन प्रहरीमा आएकी हुँ,’’ उनले भनिन्, ‘‘यसअघिका दुई पटकको चुनावमा म्यादी प्रहरीको अनुभव भइसकेकाले पनि यो पटक पनि छनोट हुने आशा लिएकी छु ।’’
तीन सन्तानमध्ये एक छोरा नौ कक्षा र अर्को छोरी पाँच कक्षामा अध्ययनरत रहेका छन् । अर्को छोरा भने सवारी दुर्घटनामा परेर ढाड नचल्ने समस्याबाट गुज्रिरहेका छन् । उनका पति भने खेतीकिसानी गर्दै आइरहेका छन् । घाइते छोराको उपचारार्थ केही रकम जोहो गर्नकै लागि भए पनि निर्वाचन प्रहरी बन्न लागेको उनी बताउँछिन् ।
‘‘अघिल्ला दुई निर्वाचनमा त छनोट भएकी थिएँ । यसपालि के हुने हो हेरौँ,’’ उनले भनिन्, ‘‘आफू निर्वाचन प्रहरीमा छनोट भएको खण्डमा निर्वाचनलाई राम्रोसँग अघि बढाउने रहर छ ।’’अहिले पर्सा जिल्लामा निर्वाचन प्रहरी बन्ने दौडमा विनिन् मात्रै नभएर ३२ वर्षीया दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि कसरत गरिरहेकी छन् । स्थायी घर पर्साको पोखरिया नगरपालिका भएकी उनले जसरी पनि निर्वाचन प्रहरी बन्ने सपना देखेर आएको बताइन् ।
‘‘निर्वाचन प्रहरी भएर खटिँदा देशको सेवा पनि हुने र केही रकम आम्दानी पनि हुने देखेर आएकी हुँ,’’ उनले भनिन्, ‘‘निर्वाचन प्रहरी बनेर छोराछोरीको पढाइ खर्च जुटाउन केही सहज होला कि भनेर आएकी हुँ ।’’वीरगञ्जको नारायणी रङ्गशालाको मैदानमा विनिन् र तेतरीदेवी मात्रै नभएर पर्साको बहुदरमाई नगरपालिका–९ मा बसोबास गर्ने दुई छोराकी आमा चन्द्रमादेवी पनि निर्वाचन प्रहरी बन्ने सपना बोकेर नारायणी रङ्गशालामा उत्रिएकी छन् ।
‘‘आर्थिक अवस्था कमजोर भएकाले नै नर्सरीमा पढ्ने छोरालाई छाडेर निर्वाचन प्रहरी बन्ने दौडमा लागेकी छु,’’ उनले भनिन्, ‘‘निर्वाचन प्रहरी भएर देशको सेवासँगै केही अर्थोपार्जन पनि हुने भएकाले आएकी हुँ ।’’उनले एउटा छोरा कक्षा आठ र अर्को छोरा नर्सरीमा अध्ययनरत रहेको बताइन् । उनका पति भने फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्दै आइरहेका छन् ।
अन्य विभिन्न उमेर समूहका पुरुष तथा महिला निर्वाचन प्रहरी बन्ने सपना बोकेर नारायणी रङ्गशालामा शारीरिक अभ्यासमा सहभागी भएका छन् । तिनैमध्ये १९ वर्षीया युवती कुशुकुमारी पनि निर्वाचन प्रहरी बन्न कसरत गरिरहेकी छन् ।
‘‘फागुन २१ गतेदेखि हुने चुनावलाई सफल गराउन र केही रकम भए पनि कमाउनका लागि निर्वाचन प्रहरी बन्न आएकी हुँ,’’ उनले भनिन्, ‘‘हामीजस्तै जेन–जी उमेर समूहका साथीहरूले आन्दोलनमा सहादत प्राप्त गरेका छन्, हामी भने निर्वाचन सफल गराउन र तिनै सहिदहरूको चाहना पूरा गराउन सहभागी भएका हौँ ।’’
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्धका लागि निर्वाचन प्रहरी आवश्यक परेको भन्दै आवेदन खुलाएसँगै निर्वाचन प्रहरी बन्नेहरूको घुइँचो लागेको हो । पर्सामा निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति पर्साले जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार आठ सय ५२ जनाका लागि आवेदन माग गरेको थियो । नेपाल प्रहरीतर्फ पाँच हजार तीन सय ९९ जनाको आवेदन परेको छ भने सशस्त्र प्रहरीतर्फ तीन सय ८५ जनाको आवेदन माग भएकोमा पाँच सय ७१ जनाको आवेदन परेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति पर्साका संयोजक सुमनकुमार कार्कीले निर्वाचन प्रहरीमा विभिन्न उमेर समूहका महिला तथा पुरुषको उत्साहजनक सहभागिता देखिएको बताए ।
‘‘सबै उमेर समूहका महिला तथा पुरुष निर्वाचन प्रहरी बन्न उपस्थित छन् । कतिपय सन्तान जन्माइसकेका महिलाहरू पनि सरिक भएका छन् । यसले छोटो अवधिका लागि भए पनि रोजगारीको अवसर सिर्जना भएकाले सहभागिता बढेको हुनसक्छ,’’ उनले भने ।
संयोजक कार्कीले चुलोचौकामा सीमित हुने भनिएका मधेसी समुदायका महिला पनि अवसर पाउँदा आफ्नो जिम्मेवारी निभाउन सक्षम हुन्छन् भन्ने उदाहरण देखिएको बताए ।‘‘यसले यहाँका महिला अवसर पाएको खण्डमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्षम छन् भन्ने देखाएको छ,’’ उनले भने, ‘‘निर्वाचन प्रहरी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन लागिरहेका छौँ ।’’
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल तथा जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन प्रहरी छनोट प्रक्रिया पारदर्शी बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आइरहेका छन् । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा महिला र पुरुषको सहभागिता उत्साहजनक रहेको बताए ।
‘‘यहाँबाट निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको सङ्ख्या दोब्बरभन्दा बढी छ,’’ उनले भने, ‘‘एकातर्फ निर्वाचनमा सेवा गर्न चाहने युवा पुस्ताको आकर्षण बढिरहेको छ भने अर्कातर्फ ४० दिनमा आम्दानी पनि राम्रो हुने देखेर होला ।’’
पर्सा प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पहिलो पटक आवेदन दिने पुरुषको सङ्ख्या तीन हजार एक सय ४७ जना छन् । नयाँ आवेदन दिने महिलाको सङ्ख्या छ सय तीन जना छ । विगतमा म्यादी प्रहरीका रूपमा खटिएका छ सय ८७ जना पुरुष र एक सय ५३ जना महिलाको पनि आवेदन परेको छ । त्यस्तै पूर्व सुरक्षाकर्मीतर्फ १२ जना पुरुष र विदेशी सैनिकबाट अवकाश प्राप्त एक जनाको आवेदन परेको छ । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहसम्मको आकर्षण रहेको बताए ।