हिपमत डटकम

सोमबार, माघ ०६, २०८२ || 821  पटक पढिएको

ललितपुर । “भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नैपर्छ, अहिले नलडे कहिले लड्ने ?” जेनजी आन्दोलनमा होमिनुअघि ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका ३४ वर्षीय विनोद महर्जनले साथीभाइसँग यही भनेका थिए। “म मारिएँ भने पनि गणतन्त्रको दियो निभ्न नदिनु,” भन्दै अघि बढेका विनोद भदौ २३ गते नयाँबानेश्वरस्थित संसद् भवन अगाडि कहिल्यै नउठ्ने गरी सधैँका लागि ढले। अधुरो सपना छोडेर उनी बिदा भए।

बाक्लो दाह्रीजुँगा पालेका, लामो कपाल भएका निडर स्वभावका विनोद सानैदेखि अन्याय सहन नसक्ने खालका थिए। छलछाम गर्न नजान्ने र कसैको आलोचना गर्नुपरे लुकीछिपी होइन सिधै गर्ने उनको हक्की स्वभाव थियो। स्वर्गीय पिता बाबुकाजी महर्जन र आमा लतमाया महर्जनका कान्छो सन्तान विनोदमा मुलुकको व्यवस्था परिवर्तनका लागि युवाहरूले सशक्त आन्दोलन गर्नैपर्छ भन्ने धारणा थियो। बाहिरी हुलियाले अनौठो ठान्नेहरू पनि उनको भनाइ र विचार सुनेपछि प्रभावित हुन्थे। यही स्वभावले उनले समाजमा बेग्लै पहिचान बनाएका थिए।

कान्छो छोरा विनोदलाई सम्झँदै त्यस दिनको कुराकानीबारे आमा लतमायाले नेवारी भाषामै घटना सुनाइन्। आमाले भात खान बोलाउँदा विनोदले “अहिले म खाँदिनँ, साथी आइसक्यो, एकछिन बाहिर गएर आएपछि खान्छु” भन्ने जवाफ फर्काएका रहेछन्। खाना नखाई निस्किएका विनोद आन्दोलनमा गएर गोली लागेर ढले। नयाँबानेश्वर चोकमा भएको घटनामा उनलाई मुख र टाउकोमा दुई गोली लागेको थियो। साथीभाइले नजिकको एभरेष्ट अस्पताल लगे पनि त्यहाँ पुर्‍याउनुअघि नै उनको निधन भइसकेको थियो।

सानै उमेरमा बुबाको निधन भएपछि तीन दिदीबहिनी, एक दाजु र आमासँग बस्दै आएका विनोद परिवारका कान्छो सदस्य थिए। लामो समयसम्म देवीदेवताको मूर्ति बनाउने काम गर्दै आएका महर्जन कोरोना महामारीपछि पेसा सङ्कटमा परेसंगै पछिल्लो समय ‘वाल पेन्टिङ’ मा संलग्न रहेको उनकी दिदी विना महर्जन अवाल बताउँछिन्। एसएलसी परीक्षामा असफल भएपछि दैनिक अभ्यास र स्वअध्ययनबाट मूर्ति बनाउने र पेन्टिङ कार्यमा उनी पोख्त भएका थिए। “देश र परिवारका लागि केही गरौँ अनि मात्र विवाह गरौँला” भन्ने विनोदको सपना जेनजी आन्दोलनका क्रममा बानेश्वरमै बिलायो।

एकान्तमा चित्र बनाउने अभ्यास गर्ने भएकाले भदौ २२ गते पनि विनोदले राति अबेरसम्म चित्र बनाएका थिए। राति अबेर सुतेकाले उनी बिहान १० बजेसम्म पनि ओछ्यानबाट उठेका थिएनन्। तर अघिल्लो दिन साथीभाइबीच आन्दोलनमा सहभागी हुने सल्लाह भएबमोजिम साथीहरू आएर उनलाई उठाए। आमाले खाना खान बोलाउँदा पछि खाउँला भन्दै मुख धोएर निस्किएका उनी साथीसँग सिधै बानेश्वर पुगे। उता आमा भने छोरो खाना खान आउँला भनेर कुरिरहिन्।

सुरुमा विनोदले आन्दोलनकारीलाई पानी वितरण गरेर सहयोग पुर्‍याइरहेको परिवारका सदस्यले घरैबाट ‘फेसबुक लाइभ’ मा हेरिरहेका थिए। जात्रापर्वमा पनि अरूलाई सहयोग गर्ने, खानेकुरा र पानी बाँड्ने उनको बानी थियो। त्यो दिन पनि भाइले पानी बाँडिरहेको फेसबुकबाट देखेको दिदी विनाले बताइन्। तर, आन्दोलन चर्कंदै गएपछि आन्दोलनकारी र प्रहरीबीच भएको भिडन्तमा बानेश्वर चोक नजिक हानिएको गोली विनोदलाई लाग्यो र लाइभ पनि बन्द भयो। विनोदलाई गोली लागेको खबर उनीसँगै गएका साथीले घरमा गरेका थिए।

टोलका केही साथी विनोदभन्दा पहिले नै बानेश्वर पुगेका थिए। सामान्यतया राजनीतिक जुलुसमा जान नरुचाउने र साथीभाइलाई पनि सम्झाउने विनोदलाई त्यो दिन भने जेनजी पुस्ताले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धको मुद्दाले तानेको थियो। दाजु काजीरत्न महर्जनका अनुसार “जेनजीको आन्दोलन भ्रष्टाचारविरुद्ध पनि हो” भन्ने थाहा पाएपछि उनी स्वतःस्फूर्त रूपमा साथीहरूसँग आन्दोलनमा सहभागी भएका थिए। उनी कुनै राजनीतिक दलमा आबद्ध थिएनन्।

विनोद बहुप्रतिभाशाली थिए। मूर्तिकला उनको परिचय थियो भने सुन लेपन गर्ने र मुहारमा चित्रकला भर्ने काममा उनी निपुण थिए। महादेवका भक्त विनोद बाँसुरी र धिमेबाजामा पनि उत्तिकै दक्ष थिए। पाहुना सत्कार उनको अर्को गुण थियो। घरका भित्ताभरि विभिन्न मूर्ति र पेन्टिङले सजिएको विनोदको संसार आज शून्य बनेको छ। विनोद ढलेसँगै उनकी ७५ वर्षीया आमाको सहारा पनि ढलेको छ। आमाको स्याहारसुसार उनले नै गर्दै आएका थिए।

गोली लागेर एभरेष्ट अस्पताल पुर्‍याइए पनि उनलाई बचाउन सकिएन। रातभर त्यहाँ राखेपछि भोलिपल्ट महाराजगन्जस्थित शिक्षण अस्पतालको शवगृहमा लगियो र केही दिनपछि पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरियो। सरकारले उनलाई सहिद घोषणा गर्दै १५ लाख रुपैयाँ उपलब्ध गराएको छ भने ललितपुर महानगरपालिकाले पाँच लाख रुपैयाँ दिएको छ। तर, परिवारका अन्य माग भने पूरा भएका छैनन्।

दिदी विनाका अनुसार जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी, सालिक निर्माण र आमाबुवालाई भत्ताको व्यवस्था गर्ने आश्वासन दिइए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। “विनोदजस्तै भ्रष्टाचार अन्त्य र सुशासनका लागि फेरि पनि देशका लागि युवाले ज्यान गुमाउन नपरोस्,” दिदी विना भन्छिन्। जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ।

सहिद विनोद महर्जनको बलिदान भ्रष्टाचारविरुद्ध उठेको निडर चेतनाको प्रतीक हो। दलगत राजनीतिभन्दा माथि उठेर सत्य र न्यायका पक्षमा उभिएका विनोदले युवाहरूको विवेक र साहसलाई बन्धक बनाउनु हुँदैन भन्ने सन्देश दिएर गएका छन्। शोकमा डुबेको परिवारको पीडामा मल्हम लगाउन राज्य संवेदनशील भएर सुशासन कायम गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जिम्मेवार हुनुपर्ने खाँचो देखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!