
हुम्ला ।हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय अत्यधिक जाडोका कारण तीन महिनाका लागि बन्द गरिएको छ। चीनको ताक्लाकोटबाट व्यापारी र सामग्रीको आयात रोकिएर कारोबार शून्य भएपछि भन्सार कार्यालय बन्द गर्ने निर्णय भएको हो।

पुसको दोस्रो हप्तादेखि नै कामकाज ठप्प भएपछि त्यहाँ कार्यरत कर्मचारीहरू सदरमुकाम सिमकोटस्थित सम्पर्क कार्यालयमा सरेका छन्। भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार चीनबाट सामान आयात हुन छोडेपछि भन्सार विभागसँग समन्वय गरेर कार्यालय बन्द गरिएको हो।
यस वर्ष ठूलो हिमपात नभए पनि गत कात्तिकमा परेको हिउँ नारा सडकखण्डमा बरफ बनेर जमेका कारण यातायात सेवा अवरुद्ध छ। सडक मार्ग बन्द भएपछि ताक्लाकोटबाट सामान आउन नसकेकाले कर्मचारीहरू हिल्सामा बस्नुको औचित्य नदेखेर सदरमुकाम झरेका हुन्।
चीनतर्फको नाका भने खुल्लै राखिएको र आगामी चैत दोस्रो हप्ता कर्मचारीहरू कार्यक्षेत्रमा फर्किएपछि मात्र नाका पुनः सञ्चालनमा आउने जानकारी प्रमुख जैसीले दिए। यो आर्थिक वर्षको साउनदेखि अहिलेसम्म यारी नाका भन्सारले १८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत वर्षको तुलनामा दोब्बर बढी भएको कार्यालयले जनाएको छ।