मोरङ — गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा हराएका तथा लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीबन्दीलाई आगामी फागुन २१ गतेभित्र नियन्त्रणमा लिइसक्ने बताएका छन्।

गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले अधिकांश फरार कैदीबन्दी सम्पर्कमा आइसकेको र बाँकीलाई विशेष अभियानमार्फत पक्राउ गरिने जानकारी दिए।

राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा उठाएको उल्लेख गर्दै उनले यस विषयमा सरकार संवेदनशील र जिम्मेवार भएर काम गरिरहेको बताए। ‘दलहरूसँगको संवाद र सहकार्यमा पनि सरकार उत्तिकै गम्भीर छ,’ उनले भने।

भयरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सुरक्षा तयारीलाई प्राथमिकतामा राखिएको गृहमन्त्री अर्यालको भनाइ छ। उनका अनुसार निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपछिसम्म प्रदेश सरकारको सक्रिय सहभागितामा सुरक्षा संयन्त्र परिचालन गरिनेछ।

निर्वाचन लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले निर्वाचनबाटै शासनलाई वैधानिकता प्राप्त हुने बताए। ‘निर्वाचनबिना सुशासन सम्भव हुँदैन,’ उनले भने, ‘निर्वाचनको विकल्प छैन।’

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैरदलीय सरकारले तटस्थ भएर निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिए। निर्वाचन आउन दुई महिना मात्र बाँकी रहेकाले समयमै वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो। साथै, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन आवश्यक साधनस्रोत उपलब्ध गराउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए।

उद्‌घाटन कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले सम्बोधन गरेका थिए।

सुरक्षा बैठकमा नेपाली सेनाका बलाधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!